दमक/ ट्राफिक प्रहरीको तथ्याङकमा सवारी दुर्घटना अधिक मात्रामा हुने गरेका पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कमल गाउँपालिका भित्र पर्ने तीन ब्लयाक स्पटमा सीसी क्यामेरा जडानका लागि तयारी भएको छ ।
सो पालिका अन्तर्गत पर्ने सितापुरी, पाडाजुँगी र लभडाँडा छेउ (रतुवा पूल पूर्व) गरी तीन स्थानमा आवश्यक निगरानी बढाउन र दुर्घटना भइ हालेमा विवरण यकिन गर्न समेत मद्धत पुरयाउने उद्धेश्यले सीसी क्यामेरा जडानको तयारी गरिएको हो ।
ति क्षेत्रमा शुक्रबार कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यसहितको टिमले स्थलगत निरिक्षण गरी उपयुक्तस्थल यकिन गरेका हुन । गाउँपालिका अध्यक्ष राईले केर्खा र रिजाल पेट्रोल पम्प एरियामा निगरानीका लागि यसअघिनै सीसि क्यामेरा जडान भइसकेकाले ट्राफिक प्रहरीसँगको समन्वयमा थप तीन स्थानमा सीसी क्यामेरा जडान गर्न लागिएको बताए । उनले भने–दुर्घटना एउटा भवितव्य घटना भएपनि मानवीय कमजोरी र त्रुटीका कारण बढी जोखिम हुने हुँदा त्यस्तो कमजोरी कसैबाट नहोस भन्ने उद्धेश्यले पनि यो कामलाई हामीले प्राथमिकतामा राखेका हौं । उनले दुर्घटना न्यूनिकरणका लागि आगामी दिनमा ति क्षेत्रमा आवश्यक सतर्कता अपनाउन गर्न सकिने कामहरु पनि गर्दै लगिने बताएका छन ।