दमक/ झापाको गौरीगञ्जमा विश्व मुटु दिवसको अवसर पारेर शुक्रबार मुटुको जाँच सम्बन्धि निशुल्क शिविर सञ्चालन गरिएको छ ।
गौरीगञ्ज गाउँपालिका तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा गौरीगञ्ज आधारभुत अस्पताल खजुरगाछीमा मुटु रोग, मृगौला रोग र मधुमेह सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा मुटु तथा अन्य विभिन्न किसिमका स्वास्थ्य समस्या भएका १ सय ७५ जना सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानवाट शिक्षाध्यक्ष एवम बरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ डाक्टर सञ्जिव कुमार शर्माको नेतृत्वमा १० जना चिकित्सक, ८ जना नर्स, २ जना प्रयोगशालाकर्मी, २ जना फर्माशिष्ट र अन्य २ जना सहित जम्मा २४ जना र १५ जना स्थानिय चिकित्सक एवम स्वास्थ्यकर्मीहरु शिविरमा खटिएका थिए भने जम्मा १७५ जना मुटु, मृगौला तथा सुगरका बिरामीहरुले सेवा लिएका थिए ।
शिविरमा २२ जनाको मुटुको भिडियो (इको) र ६२ जनाको इसीजी गरिएको थियो भने ८ जना बिरामीको फोक्सोको जाँच गरिएको थियो । सवै विरामीहरुलाई आवश्यक औषधि तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
यसै कार्यक्रमका विच डा सञ्जिव कुमार शर्माले बिरामी तथा सरोकारवालाहरुलाई मुटु तथा मृगौला सुरक्षित राख्ने उपाय सम्वन्धी करिव १ घण्टा स्वास्थ्य शिक्षा समेत प्रदान गरेका शाखा प्रमुख मिश्रले बताएका छन् ।

 

Facebook Comments Box