दमक/ कोरियन भाषा परीक्षाको लागि आवेदन दर्ता अनलाइन माध्यमबाट गर्ने सुविधा दिएको इपिएसको अनलाइन आवेदन सहज नहुँदा आवेदक सर्वसाधारणले हैरानी खेप्नु परेको छ । फारम भर्नका लागि उपलब्ध गराइएको इपिएसको वेवसाइटको सर्भर डाउन हुँदा आवेदनकालागि सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।

सर्वसाधारणले अनलाइन मार्फत परीक्षा फर्म भर्न सकिने भन्ने ब्यहोराको सूचना आएपनि फारम भर्नका लागि अत्यन्तै न्यून समय तोकिएको र तोकिएको समय भित्र सेवा सहज रुपमा सञ्चालन नहुँदा देशभर हजारौं आवेदकहरु रातभर जागै बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

यसपटक इपिएसले उत्पादनमुलक क्षेत्रमा कामदार लिने प्रकृया अन्तर्गतको परीक्षाका लागि आवेदन फारम भर्न पुष २ गते सोमबारदेखि पुष ६ गते शुक्रबार अर्थात भोली सम्मको मात्रै समय दिएको छ ।

एच.आर.डी. सर्भिस अफ कोरियाबाट अनुमानित उत्तिर्ण संख्या १५ हजार ८ सय ४८ रहनेछ । यस पटक परीक्षाको लागि आवेदन दिन इच्छुकहरुको संख्या सवा लाख जति हुने अनुमान गरिएको छ ।

बिहिबार साँझ सम्ममा झण्डै आधा अर्थात ६८ हजार जनाले मात्रै आवेदन दर्ता गर्न सकेका छन । ४ दिनको अवधिमा झण्डै सो संख्यामा आवेदन दर्ता भएको हो भने लगभग २४ घण्टाको अवधिमा मात्रै त्यतिनै संख्यामा आवेदकहरुले आवेदन दर्ता गराइसक्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुँदा आज रातैभर अनलाइन माध्यमबाट फारम भर्नका लागि सर्वसाधारण युवाहरु जाग्राम बस्नुपर्ने अवस्था आएको छ ।

अनलाइन फारम दर्ताको लागि सहजीकरण गर्दै आएका दमकस्थित फोटो मलका सञ्चालक विदुर भण्डारीले दिनैभर सर्भरले काम नगर्दा फारम भर्न कठिनाई भएको उल्लेख गरे । उनले तोकिएको समय नबढाइए इच्छुक आवेदकहरुको आवेदन दर्ता गर्नै मुश्किल हुने पनि बताए ।

आवेदन भर्नका लागि दिनभर कठिनाई ब्यहोर्नु परेको फारम भर्ने लाइनमा भेटिएका विवेक सुवेदीले बताए । पाँचथरका दिपक राईले आवेदन फारम भर्ने प्रकृया सहज बनाइनुपर्ने माग गरे ।

 

Facebook Comments Box