दमक/ झापाको दमकमा केही समय अघि सञ्चालनमा आएको सौर्य अस्पताल र सञ्चालन अनुमति मागिरहेको श्रीजा हस्पिटलको आज दमक नगरपालिकाबाट विज्ञहरुसहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।
नगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक रेगिना भट्टराई प्रसाइँ, प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्की, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई, दमक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. कृष्ण साह, जनस्वास्थ्य निरिक्षक बद्री बराल लगायतको संयुक्त अनुगमन टोलीले ति अस्पतालमा पुगेर अवस्थाबारे जानकारी लिएको हो ।
सो क्रममा यसअघि १५ बेडका लागि अनुमति माग गरेर आवश्यक मापदण्डको अभावमा स्वीकृति पाउन नसकेको सौर्य अस्पतालले साविकको स्थानबाट देवकोटा चोकमा स्थानान्तरण भएसँगै आवश्यक अधिकतम मापदण्डहरु पुरा गरेको पाइएको छ । अस्पतालमा आवश्यक थप केही निर्देशन दिइएको उपप्रमुख भट्टराईले जानकारी दिइन । उपप्रमुख भट्टराईले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कसैले पनि त्रुटी गर्नु नहुने भएकाले समय समयमा सचेतनाका लागि पनि यस किसिमको अनुगमनलाई निरन्तरता दिइने गरेको बताइन ।
सो अवसरमा अस्पताल व्यवस्थापन पक्षले आवश्यक तयारीलाई तोकिएको मापदण्ड अनुसार पुरा गर्ने प्रतिबद्धता जनाएको थियो ।
यसैगरी दिपिनी मार्गमा सञ्चालनमा आएको भनिएको श्रीजा हस्पिटलले भने भौतिक पूर्वाधार र अस्पतालमा बिरामीको व्यवस्थापन , चिकित्सकहरुको बन्दोबस्ती लगायतका बिषय मापदण्ड अनुसार हुन नसकेको पाइएको छ । श्रीजा हस्पिटललाई आवश्यक प्रकृया पुरा गरेर मात्रै अस्पताल सञ्चालन गर्न निर्देशन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले बताए । जनस्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार दमक १ मा सञ्चालित बिष्ट फैक्ट्रीको व्यायामशालासहित अन्य स्वास्थ्य संस्था तथा क्लिनिकहरुको पनि अनुगमन गरि आवश्यक निर्देशन गरिएको बताए ।