दमक/झापाको दमकस्थित दमक जेसीजले बर्षेनी दशैंको अवसरमा आयोजना गर्दै आएको सप्तमी साँझ कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिएको छ । जेसीजले विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा दमकमा क्रियाशील सामाजिक संघ संस्थाहरुलाई सहभागी गराएर हिजो फुलपाती अर्थात सप्तमीको अवसरमा सो कार्यक्रम गरेको हो ।

 

कार्यक्रमका वक्ताहरुले जेसीजले सञ्चालन गर्दै आएको सप्तमी साँझको विशिष्ट महत्व रहेको चर्चा गरे ।
प्रदेश नं १ का प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्य , दमक जेसीज बर्ष २०१९ का अध्यक्ष भीमराज केसीको अध्यक्षता र दमक जेसीजका कार्यकारी उपाध्यक्ष कमल कट्वालको संयोजकत्वमा सञ्चालन भएको सो कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी, दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, राप्रपाका प्रदेश संयोजक रामकुमार थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा दमककी प्रेनुसा पाण्डे बालबालिकाको अधिकार सम्बन्धि अन्तराष्ट्रिय कार्यशालाका लागि सिंगो नेपालको प्रतिनिधित्व गर्दै छनौटमा परेकोमा सम्मानसहित बधाई तथा शुभकामना पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षहरु, राजनीतिक दल तथा विभिन्न सामाजिक संघ संस्थाका स्थानीय प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा कलाकारहरुले राष्ट्रप्रेम झल्काउने गीत, नृत्य आदी प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव सुयोग खरेलले गरेका थिए ।

Facebook Comments Box