दमक/ दमककी धनुजा राई र ताप्लेजुङका विमल तामाङको भेट लगभग एक बर्ष अघि मात्रै दक्षिण कोरियामा भएको हो । स्वदेशमा होस वा विदेशमा आर्थिक विपन्नताका कारण दुख कष्ट झेलिरहेका नेपालीको दुखलाई नजिकबाट नियालेका दुवै जनाबीच सम्पर्क र भेटघाटको संयोग पनि त्यस्तै थियो ।

ताप्लेजुङका एक युवालाई मलेसियामा त्यहाँका गुण्डाहरुले निर्मम तवरबाट हत्या प्रयास गरेपछि उनको उपचार र उपचार सम्भव नभएका कारण शव नेपाल ल्याउन खर्च जुटाउने उद्धेश्यले सञ्चालित एउटा अभियानका क्रममा सामाजिक सञ्जाल मार्फत राई र तामाङ दौतरीबीच पहिलो चिनजान भएको थियो ।
एकले अर्कालाई सोधपुछ संगै अभियानमा जुट्न आव्हान गरेपछिदेखि शुरु भएको उनीहरुबीचको चिनजानले अन्तत दाम्पत्य जिवनको शुरुवातनै गरायो नेपाल आएपछि । धनुजा र विमलको यो जोडीलाई विमलको परिवारका तर्फबाट घरमा स्वागतसहित औपचारिकता दिईसकेको छ ।
धनुजाका तर्फबाट भने त्यसलाई पूर्णता दिने तयारी हुँदै गर्दा दुवैले अबका दिनमा स्वदेशमै जमेर व्यवसाय सञ्चालन गर्ने दुवैको सोच बन्यो । असोजको पहिलो साता दमकको मुटु मानिने मिशाल बजार नजिकै नमुना मार्ग जाने बाटोमै यो जोडीले एउटा अत्याधुनिक किसिमबाट समय सुहाउँदो र यहाँको माग अनुसारको एउटा क्याफे सञ्चालनमा ल्याएका छन् ।
कफी र कोरियन खाजा आकर्षण
कोरियामा लगभग ४/५ बर्षको समय रोजगारीका सिलसिलामा विताएका धनुजा र विमलले यहाँ सञ्चालन गरेको माई क्याफेमा पनि कोरियाको स्पेशल खानेकुराहरु उपलब्ध गराउने सोच बनाए ।
उनीहरुले विभिन्न प्रकारका कफी आइटमका साथै कोरियामा खाईने परम्परागत खानेकुरा फेच्चु नामक सागपातबाट बनेको खिम्ची, किमवभ, रामेन लगायत सामुन्द्रीक लेउबाट बनेका खानेकुराहरुक तथा नेपाली, चाईनिज, र इण्डियन चल्तीका खाजा आईटमहरु उपलब्ध गराईरहेका छन् ।
स्वभाविक रुपले विदेशी खानेकुराहरु तयार गर्दा तुलनात्मक हिसाबमा केहि महंगो जस्तो लागेपनि त्यसको स्वाद र सन्तुष्टिका तुलनामा खासै महंगो मान्नु नपर्ने उनीहरुको ठम्याई छ । व्यवसायमा गरिएको ३० लाख हाराहारीको लगानी उनीहरु आफैंले कोरियामा बस्दा गरेको कमाई हो । विदेशमा कमाएको पैसा स्वदेशकै माटोमा लगानी गरेर स्वरोजगार बन्ने धनुजा र विमलको जोडीले अठोट लिएको छ ।
व्यवसायी दम्पति भन्छन– हामीले कोरियामा देखे जाने र सिकेको सीप र प्रविधिको प्रयोग गरेर स्वदेशमै आत्मनिर्भर हुने प्रयास गरेका हौं । यसमा सबैले सकारात्मक सोच राखेर साथ दिनुहुनेछ भन्ने विश्वास छ ।