दमक/ रोमियो फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्र घरजमको झापा, मोरङ र सुनसरीमा विशेष प्रदर्शनी गरिने भएको छ । यहि कार्तिक २ गते दमकको पाथीभरा चलचित्र हलबाट यसको विशेष प्रदर्शनी शुरु हुने आज दमकमा आयोजित पत्रकार भेटघाट मार्फत जानकारी गराईएको छ ।

चलचित्रका निर्माता सीता तुम्बापोले विशुद्ध नेपाली कथा बस्तुमा आधारित सो चलचित्र समाजको ऐना भएको बताउनु भयो । घरजम शब्द आफैंमा ठेट नेपाली शब्द भएकाले छुट्टै किसिमको मौलिकता चलचित्रमा प्रस्तुत गरिएको उहाँले बताउनु भयो ।
करिब ९० लाख रुपैयाँको लागतमा सो चलचित्र निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनु भयो । सहनिर्माताका रुपमा तेज मेन्याङवो रहनु भएको छ । चलचित्रका निर्देशक मौसम लिम्बु इम्बुङले घरजम चलचित्र लिम्बु समुदायको जिवन दर्शनलाई आधार मानेर बनाइएको नेपाली कथानक चलचित्र भएको बताउनु भयो ।

सो चलचित्रको कथा उपेन्द्र सुब्बाले लेख्नु भएको हो भने रञ्जीत गजमेर, कुशल थुलुङ, खगेन्द्र पन्धाक र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । त्यस्तै चलचित्रमा कुशल थलङ, उदितनारायण झा, मेलिना राई, प्रविशा अधिकारी, मिलन नेवार लगायतले विभिन्न गीतहरुमा स्वर दिएका छन् । चलचित्र एक सय मिनट लामो कथाबस्तु भएको सो चलचित्र विशेष गरी पाँचथरका विभिन्न स्थानमा र केही काठमाडौंका रमणीयस्थलहरुमा छायाङकन गरिएको चलचित्रका मिडियो कोअर्डिनेटर मिलन लिम्बुले जानकारी दिनु भयो ।

Facebook Comments Box