दमक/ दमक ६ मा मंगलबार सञ्चालित महिला स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा १०६ जना महिलाले सेवा लिएका छन ।
पुरानो सब्जी बजार क्षेत्रमा रहेको दमकको ६ नम्बर वडा कार्यालयसँगै रहेको आधारभुत स्वास्थ्य केन्द्रमा मंगलबार दमक नगरपालिकाको आयोजनामा भएको सो शिविरमा सेवा लिएका सबैको अवस्था सामान्य देखिएको छ ।
शिविरमा ८६ जनाको पाठेघरको मुखको क्यान्सर जाँच (भिआईए) गरिएको हो भने ३० जनाले भिडियो एक्सरे सेवा लिएका छन ।
शिविरको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख आतिथ्य र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईको अध्यक्षतामा औपचारिक कार्यक्रमाबीच उदघाटन गरिएको थियो ।
उदघाटन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा वक्ताहरुले यस किसिमका शिविरहरुबाट लक्षित समुहले लाभ लिन सक्ने बताए ।
सरकारले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च रहेको भन्दै ३० बर्षदेखि ६० बर्ष उमेर समुहका महिलालाई लक्षित गरेर यस खालको परिक्षण गर्ने कार्यक्रम देशव्यापी रुपमा एकसाथ सञ्चालन गरिरहेको छ ।

सो कार्यक्रम अन्तर्गत दमक नगरपालिकाले वडा नं ६ मा यो कार्यक्रम सञ्चालन गरेको हो ।
शिविरमा दमक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ड समेत रहेका स्त्री रोग विशेष डा. कृष्ण साह, मलिना श्रेष्ठ लगायत एक दर्जन बढी स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएको नगर स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिए । नगरपालिकाले गत बर्ष यस किसिमको शिविरमा भिआइए जाँच मात्रै गराएकोमा यसबर्ष आवश्यकता अनुसार भिडियो एक्सरे सेवा समेत थप गरेर सेवा दिइएको हो ।