दमक/ ताप्लेजुङका चाँगेलीहरुको भेला झापाको केरखामा सम्पन्न भएको छ । चाँगेबाट बसाईसरी झापाको दमक र मोरङको उर्लाबारीमा आएकाहरुको भेला शनिबार सम्पन्न भएको हो ।

चाँगे ताप्लेजुङ दमक उर्लाबारी सम्पर्क समाजको आयोजनामा भएको बृहत आम भेलामा ८० वर्ष माथिका १० जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ । पुख्र्यौली थलो चाँगे भई दमक र उर्लाबारीमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गरिएको समाजका अध्यक्ष विजय आङ्बुहाङले बताउनुभयो । सम्मानित हुनेहरुमा भीमप्रसाद निरौला, तुलसा निरौला, भीमादेवी ओली, कुलबहादुर आङ्बुहाङ, दलमाया आङ्बुहाङ, नरमाया खरेल, शेरबहादुर तामाङ, लक्ष्मीप्रसाद थपलिया, लोकनाथ भट्टराई र धनमाया निरौला रहनुभएको छ ।

दमक र उर्लाबारीमा बसोबास गर्ने चाँगेलीहरुको बृहत उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि तत्कालीन चाँगे गाउँ पञ्चायतका प्रधानपञ्च नरजुङ आङ्बुहाङ रहनुभएको थियो । कार्यक्रममा दमक नगरपालिकाका मेयर रोमनाथ ओली, चाँगे गाविसका पूर्व अध्यक्ष डम्बर चुँडाल, चाँगे माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापकहरु मदन आङ्बुहाङ र माधव आङ्बुहाङलगायतको आतिथ्यता रहेको थियो ।

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा च्याबु्रङ नाच, भजन कीर्तन, तामाङ सेलो, संगिनी लगायत प्रदर्शन गरिएको थियो । चाँगेको सेरोफेरोलाई समेटेर तारा चुडाल र अशोक गौतमले गीत प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा महिलाहरुको म्युजिकल चेयर्स र पुरुषहरुको हाँडीफुटाई प्रतियोगिता सम्पन्न भयो । म्युजिकल चेयर्समा प्रमिला चुडाल प्रथम, मेनुका चुँडाल दोस्रो र रमा दाहाल तेस्रो हुनुभयो । यस्तै, हाँडीफुटाईको उपाधि शौरभ निरौलाले हात पार्नुभयो ।

गत वर्ष स्थापना भएको चाँगे ताप्लेजुङ दमक उर्लाबारी सम्पर्क समाजमा १ सय १३ जना आजीवन सदस्य रहेको समाजका प्रकाश आङ्बुहाङले जानकारी दिनुभयो । समाजका अध्यक्ष विजय आङ्बुहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद निरौला र सहसचिव विष्णुभक्त ओलीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सुमित्रा प्रसाईले राख्नुभएको थियो ।

अध्यक्ष विजय आङ्बुहाङले चाँगेबाट तराई झरेकाहरुलाई संगठित गर्दै दुःख सुखमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले संस्था स्थापना भएको बताउँदै आगामी दिनमा झापा, मोरङ र सुनसरीमा रहेका चाँगेलीहरुलाई समेटेर बृहत संस्था बनाउने, संस्थाले एम्बुलेन्स सञ्चालन गर्ने र अन्य रचनात्मक कार्य गर्ने बताउनुभयो ।

Facebook Comments Box