दमक/ झापाको दमक नगरपालिकाले विपन्नता तथा अपाङगता भएका १३ जनालाई सीपमुलक तालिम प्रदान गर्नुका साथै सीपलाई प्रविधिसँग जोड्नका लागि सहयोग गरेको छ ।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको स्वीकृत कार्यक्रम अनुसार कूल १३ जना महिलालाई तान बुन्ने सीप सिकाएर एक/एक थान तान समेत प्रदान गरेको हो ।
त्यस्तै नगरका १० वटै वडाबाट अपाङगता भएका एक/ एक जनालाई जिविकोपार्जनमा सहयोग पुरयाउने उद्धेश्यले विभिन्न सामग्री समेत प्रदान गरेको हो । दमक नगरपालिकाको सभाकक्षमा शाखाले बुधबार आयोजना गरेको औपचारिक कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ र सामाजिक बिकास समिति संयोजक समेत रहेकी कार्यपालिका सदस्य शारदा सापकोटा भट्टराईले ति सामग्री हस्तान्तरण गरेका हुन् ।

लाभग्राहीहरुको नाम सम्बन्धित वडाबाट सिफारिस भई आएका आधारमा छनोट गरिएको कार्यक्रममा जानकारी दिइयो । सो अवसरमा पानी तान्ने चार थान बिद्युतीय मोटर, दुई थान डिजिटल काँटा, एक थान सिलाई मेसिन हस्तान्तरण गरिएको हो भने सोही कार्यक्रम अन्तर्गत एक जनालाई डिप्लोमा लेभलको कम्प्युटर सिक्ने बन्दोबस्ती मिलाइनुका साथै एक जनालाई आय आर्जनमा जोड्न एउटा बाख्रा प्रदान गरिएको शाखा प्रमुख सरिता भण्डारीले जानकारी गराइन् ।

कार्यक्रममा नगरपालिका प्रमुख रामकुमार थापाले अपाङगता आफैंमा अप्रिय लाग्ने अवस्था भएपनि यस अवस्थामा सहयोग गर्न पाएकोमा स्थानीय सरकारको तर्फबाट खुशी व्यक्त गरे । नगर उपप्रमुख भट्टराईले आयआर्जनमा जोड्न नगरपालिकाले गरेको प्रयत्नलाई सार्थक बनाउन लाभग्राहीहरुको भुमिका महत्वपूर्ण हुने हुँदा यसको अधिकतम उपयोग गर्न आग्रह गरिन् । सामाजिक बिकास समिति संयोजक सापकोटाले अपाङगता भएकाहरुले उच्च मनोबलका साथ अघि बढ्नुपर्नेमा जोड दिइन् ।