दमक/झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ मा पर्ने बोलोचोकका बालबालिकाहरुलाई सामाजिक काममा प्रेरित गर्दै स्वास्थ्यका लागि नियमित योगाभ्यास र खेलकुदमा सक्रिय बनाइएको छ ।

 

स्थानीयबासीहरुले केहि महिना अघि बोलोचोक विकास समिति गठन गरेपछि सो समिति अन्तर्गत बाल क्लब मार्फत हरेक दिन बिहान ४ बजेदेखि नियमित रुपमा झण्डै ६० जना बालबालिकाहरु योगाभ्यास तथा अन्य फुटबल, क्रिकेट लगायतका खेलकुदमा सहभागी हुने गरेका समितिका अगुवा धर्मेन्द्र साहले बताउनु भयो । बालबालिकाहरुको शारिरीक तथा मानसिक विकासमा यस किसिमका गतिबिधिले सकारात्मक प्रभाव पारेको अभिभावकहरुको बुझाई छ ।

सो समिति मार्फत त्यस क्षेत्रका सर्वसाधारणहरुले आआफ्नो जन्मदिन मनाउने खर्च सामाजिक कामका लागि दिने संस्कारको समेत विकास भएको छ । सो समुह मार्फत आफ्नो जन्मदिनको मिति र आफ्नो सहयोगको कार्यक्रमबारे समितिमा अग्रीम जानकारी गराउने र सो कार्यक्रमको व्यवस्थापन समितिले गरिदिने गरेको बताइएको छ ।

विभिन्न किसिमका मानवीय सहयोगमा जन्मदिनको खर्च समर्पित गर्ने गरिएको साहले जानकारी दिनु भयो । सोहि अन्तर्गत आज बुधबार शिवराम ताजपुरीया र राजवती ताजपुरीयाकी एक बर्षिया नेलिजा ताजपुरीयाको जन्मोत्सवका अवसरमा सो क्लबका सदस्य बालबालिकाहरु र योग क्लबका सदस्यहरुलाई ६० थान टिसर्ट प्रदान गरेका छन् ।

भने सोही ठाउँ घर भई हाल दुवईमा बस्दै आएका कमल मैनालीको परिवारले पनि उनको जन्मोत्सवको अवसर पारेर क्लबका सदस्य बालबालिकाहरुलाई स्वास्थ्यवद्र्धक खानेकुरा मात्रै खानु पर्ने सन्देश दिदैं पूर्वी तराईमा लोकप्रिय खाजाका रुपमा खाने गरिएको भक्का खाजा खुवाएका छन् । त्यस्तै मैनाली परिवारले बालबालिकाहरुको उमेर अनुसार तौल र उचाई भए नभएको परीक्षण गर्न समेत सहयोग गरेका छन् । सो अवसरमा मैनालीकी पत्नी विना कँडेल मैनाली, बुबा राम प्रसाद मैनाली र आमा पदममाया सहित स्थानीयहरु सहभागी थिए । यस अघि सो क्षेत्रका सर्वसाधारणको रगत समुह परीक्षण निशुल्क गर्ने व्यवस्था मिलाइएको थियो ।

Facebook Comments Box