चुलाचुली / इलामको चुलाचुली गाउँपालिकामा अध्यक्ष राजेन्द्र केरुङले गाउँपालिकाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा यो बर्षको प्राथमिक काम हुने बताएका छन् ।
चुलाचुली अस्पतालमा एक बर्ष अघि देखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएसँगै गाउँपालिकाबासीले सहज रुपमा स्वास्थ्य सेवा लिइरहेको र यसलाई बढाउने लक्ष्य राखिएको अध्यक्ष केरुङको भनाई छ ।
अस्पतालमा आवश्यक उपकरण तथा चुलाचुली अस्पताल सञ्चालनमा आवश्यक बन्दोबस्तीका लागि संघीय राजधानी काठमाडौंमा रहेका अध्यक्ष केरुङले स्वास्थ्य मन्त्री प्रदिप पौडेलसँग मन्त्रालयमा भेट गरेर चुलाचुली अस्पतालको बिकास र व्यवस्थापनमा आवश्यक सहयोगका लागि ध्यानाकर्षण गराए ।
स्वास्थ्य मन्त्री पौडेलले सो अस्पतालका लागि आवश्यक एक्सरे, भिडिओ एक्सरे लगायत करिब ५० लाख बराबरका स्वास्थ्य सामग्रीको प्याकेज उपलब्ध गराएका छन् ।
अध्यक्ष केरुङले भने– ग्रामिण क्षेत्रको यो अस्पताल आफ्नै भवनबाट सञ्चालन गर्ने र नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य उपचारको हक सुनिश्चितताका लागि पनि माननीय मन्त्रीज्यूबाट निर्देशन भएको छ । हामी चुलाचुली अस्पतालको आफ्नै भवनबाट सेवा प्रवाहको अन्तिम तयारीमा छौं । गाउँपालिका भित्रै १५ शैय्याको अस्पताल भवन निर्माण भएको छ ।
सो भवन निर्माण सम्पन्न गर्न ढिलाई हुने भएपछि अध्यक्ष केरुङको सक्रियतामा गाउँपालिकाले आफ्नै भवनमा अस्पताल सञ्चालन गरेर निशुल्क उपचार र औषधि वितरण गरिआएको छ ।
चुलाचुलीमा अस्पताल नहुँदा झापाका विभिन्न स्थानमा उपचारका लागि धाउनुपर्ने बाध्यता थियो । गाउँमै अस्पताल सञ्चालनले निक्कै ठुलो राहत मिलेको अस्पतालमा भेटिएकी बृद्धा पूर्णकुमारी राईले बताइन् ।
अहिले चुलाचुली अस्पतालमा दैनिक करिब एक सय बिरामीले सेवा लिइरहेको तथ्याङक छ । अस्पतालमा नसर्ने रोगका बिरामी प्रेसर, सुगर, थाइराइड, मुटु जस्ता बिरामीको चाप रहेको चिकित्सकको भनाइ छ ।
जटिल प्रकारका बिमारीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गर्ने गरिएकाले स्थानीयलाई सेवा लिन थप सहज भएको हो । सो अस्पतालको बाह्रगोठेमा निर्माण गरिएको भवनबाटै केही समयपछि सेवा सुचारु गर्ने स्थानीय सरकारको लक्ष्यलाई संघीय सरकारको सहयोगमा पूरा गर्ने वातावरण बन्दै गएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।
अध्यक्ष केरुङका अनुसार सो गाउँपालिकाका महिलाहरुलाई स्थानीय अस्पताल र अन्य छिमेकी जिल्लाका सुविधा सम्पन्न अस्पतालहरुमा पुरयाउनका लागि स्थानीय सरकारले निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिआएको छ ।
गत आर्थिक बर्षको फागुनदेखि शुरु भएको यो कार्यक्रमबाट गत असार मसान्त सम्म एक सय भन्दा बढी सुत्केरी महिला प्रत्यक्ष लाभान्वित भएका गाउँपालिका अध्यक्ष केरुङले बताए ।
त्यस्तै सुत्केरी पोषण वापतको सामग्री समेत सुत्केरी महिलालाई दिइँदै आएको छ ।