दमक/ झापाको कमल गाउँपालिका भित्रका गर्भवती महिलालाई तालिका बनाएर अब हरेक महिना निशुल्क भिडिओ एक्सरे सेवा प्रदान गर्ने कार्यक्रम अघि बढाइएको छ ।
स्थानीय सरकार मातहतका स्वास्थ्य संस्थाहरुबाट सेडुल अनुसार फरक फरक मितिमा निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराइन लागेको हो ।
चालु आर्थिक बर्ष २०८१ –०८२ को स्वास्थ्य सेवा तर्फको स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरु लक्षित निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने तालिकानै सार्वजनिक भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमलका ७ वटै वडामा हरेक महिनाको १७ गतेदेखि २५ गते सम्म आलोपालो यो सेवा सञ्चालन गरिनेछ ।
भिडियो एक्सरे जाँचका लागि गाउँपालिका अन्तर्गतको कमल नगर अस्पतालबाट जनशक्ति तथा प्राविधिक सेवा उपलब्ध हुनेछ ।
गर्भवतीका समयमा हुने स्वास्थ्य समस्यालाई बेलैमा पहिचान गरि उपचारमा प्रेरित गर्न यस किसिमको निशुल्क भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवा विस्तार गरिएको उनको भनाई छ ।
उनका अनुसार कमल– ७ मा हरेक महिनाको १७ गते, ६ वडामा १८ गते, २० गते कमल ५ को सिम्लेस्थित आधारभूत स्वास्थ्य केन्द्र, २१ गते कमल ५ कै आधारभूत स्वास्थ्य केन्द्रमा निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध हुने छ ।
त्यसैगरि, कमल –४ को स्वास्थ्य केन्द्रमा २२ गते, २३ गते कमल –३ को स्वास्थ्य केन्द्र ,२४ गते कमल– २ को कमल नगर अस्पताल र २५ गते कमल –१ को स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा उपलव्ध हुने सार्वजनिक तालिकामा उल्लेख छ ।
सो कार्यक्रम १७ श्रावणमा वडा नं ७ को आधारभुत स्वास्थ्य केन्द्रबाट शुरु गरिने र तोकिएको तालिका अनुसार २५ गते सम्ममा सबै वडामा यो सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए । उक्त समयमा सम्बन्धित वडा भित्रका लक्षित महिलाहरुलाई निसंकोच यो सेवा सुविधा लिन गाउँपालिकाको तर्फबाट सुचित समेत गरिएको अध्यक्ष राईको भनाई छ ।
पालिकाले गर्भवती महिलाका लागि यसअघि अस्पतालसम्म उपचारका लागि एम्बुलेन्स समेत निःशुल्क उपलव्ध गराउदै आएको छ । गर्भवती महिलाको सुरक्षित प्रजनन अधिकारलाई सहजता बनाउन यस किसिमको कार्यक्रम शुरु गरिएको हो । यस कार्यक्रमबाट गर्भवतीका कारण अकालमा हुने स्वास्थ्य जोखिममा समेत सुधार आउने अपेक्षा पालिकाको छ ।
पालिकाले दुई वर्ष अघिमात्र स्वास्थ्य बिमासहितको कमल नगर अस्पतालले स्थानीयलाई स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको छ । अस्पतालमा दैनिक २ सयका हाराहारीमा स्वास्थ्य जाँच गर्न आउने गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपक दाहालले बताए ।