दमक/ झापाका दुई जना संघीय सांसदहरु हर्षोल्लासपूर्वक मनाएर आजदेखि समापन हुँदै गरेको छठ पूजा सम्बन्धीका अलग अलग कार्यक्रममा सहभागी हुनुभएको छ ।
गृह नगर दमकस्थित रतुवा खोलाको किनारमा निर्माण गरिएको छठ पूजास्थलमा हिजो प्रमुख अतिथीका रुपमा सहभागी हुनुभई छठ पूजाको उद्घाटन गर्नुभएकी नेपाली कांग्रेसकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु आज बिहानै उदाउँदो सूर्यलाई अर्घय दिएर छठ पूजा समापनमा समेत सहभागी हुनुभएको हो । सांसद लिम्बुले त्यस अवसरमा विविधताले भरिएको नेपालका हरेक जाती समुदायमा विशेष मानिने चाडपर्वहरु सबैका साझा र राष्ट्रिय पर्व भएको चर्चा गर्नु भयो ।
मैथिली, मारवाडी तथा मधेसी समुदायका महिलाहरुले श्रद्धापूर्वक बिहान उदाउँदो सूर्यलाई अर्घय दिदैं गरेको समयमा सांसद लिम्बु उहाँहरुसंगै सहभागी हुनु भएको हो ।
यस अघि झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवा लिम्बु कन्काई नदीमा आयोजित छठ पूजा समारोहमा प्रमुख अतिथीका रुपमा सहभागी हुनुभएको थियो । सांसद साँवाले सद्भाव र पवित्रताको पर्व छठले सबै नेपालीहरुमा सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गर्नुभयो ।