दमक/ झापासहित पूर्व क्षेत्रमा तीन दिनदेखि लगातार झरि परिरहेको छ । कतै हल्कादेखि मध्यम वर्षा भए पनि धेरै ठाउँमा भने ठूलो पानी परेको छ । झापाका ३ बर्षामापन केन्द्रले २४ घण्टामा केचना १७९.८, गौरादह १६२.२ र चन्द्रगडी एयरपोर्ट १४४.२ र अनारमनी विर्तामोड ११६.६ मिलिमिटर बर्षा भएको जनाएका छन् । इलामको बर्षामापन केन्द्रहरुमा पनि बर्षा क्रमिक बढ्दै गएको नेपाल रेडक्रस सोसाईटी झापा शाखाले जनाएको छ ।
१३ असोज अर्थात आईतबार सम्म लगातार भारी बर्षा हुने मौसमविदहरुले औंल्याएपछि राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक सूचना निकालेर आवश्यक सतर्कता अपनाउन सुचित गरेको छ ।
प्राधिकरणले खोला बाढीको डुबानमा परेकाहरुको उद्धारको लागि तीन वनै सुरक्षा अंगहरुलाई उच्च तयारीमा रहन भनेको छ । विपदको जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्न पनि सम्बन्धित निकायलाई प्राधिकरणले निर्देशन गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिलाई सहकार्य गरेर अलर्टमा रहन, अत्यन्त जरुरी अवस्था बाहेक अन्य काममा बाहिर ननिस्कन पनि सुचित गरेको छ ।
ठूलो पानी परिरहेका कारण झापा भएर बग्ने कन्काई, रतुवा, कमल बनियानी , मावा, मेची लगायतका खोलाहरुमा बाढी आएको छ ।
मौसमविद गोविन्द झाले आइतबार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको बताए ।
आइतबार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने उनले जनाएका छन् ।
आइतबारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रि बस नचलाउन पनि सरकारले आग्रह गरेको छ । आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रि बस नचलाउन आग्रह गरेको हो ।