भारी बर्षापछि आइतबारदेखि मौसममा क्रमशः सुधार आएको छ । सोमबार बिहान पछि पूर्वमा हलुका चिसो मौसमयको अनुभव हुन थालेको छ । खोला किनार आसपासका बस्तीहरुमा हलुका हुस्सु लागेको देखिन्छ । सोह्र श्राद्ध अन्तिम चरणमा पुगेका छन भने समय नवरात्र आरम्भको सन्मुखमा छ । यस्तो अवस्थामा सर्वसाधारणहरुमा अबको मौसम कस्तो रहला ? भन्ने जिज्ञासा व्याप्त रहेको बेला  तत्कालका लागि ठूलो वर्षा नहुने, तर हल्का वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

मौसममा सुधार हुँदै गए पनि पर्सि बुधवारसम्म देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् निम्ताउने किसिमको ठूलो वर्षाको सम्भावना भने तत्काललाई छैन । आज पनि हिजो जस्तै देशभर सामान्य बदली हुनेछ ।

पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी र गण्डकी प्रदेशका थोरै ठाउँ र बागमती प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box