दमक/बालबालिकाहरुको श्रवणशक्ति जाँच तथा उपचारका लागि किओच दमक बाल अस्पतालले नेपालमै पहिलो पटक सुविधायुक्त मोबाइल अडियोमेट्री भ्यान (एम.ए.भि.) सञ्चालनमा ल्याएको छ ।
किन्ड एन ओर (नेदरल्याण्ड) र करुणा फाउन्डेसन नेपालको सहयोगमा यो अस्पतालले नेपालमा नै पहिलो पटक मोबाइल अडियोमेट्री भ्यानको प्रयोग गरेर बालबालिकाहरु लक्षित श्रवण परीक्षण घुम्ती सेवा सुरुवात गरेको हो ।
यो ध्वनिरोधी सवारीसाधन भएकाले जुनसुकै ठाउँमा गएर पनि बालबालिकाको कान तथा श्रवण जाँच गर्न सकिने बताइएको छ ।
जाँचका लागि आवश्यक उपकरणहरू गाडीभित्रै जडान रहेको किओच दमक बाल अस्पतालका मेसु डा. जयमणि श्रेष्ठले जानकारी दिए ।
विद्यालयस्तरमा तथा ग्रामीण क्षेत्रहरुमा कानको स्वास्थ्य जाँच कार्यक्रमहरू आयोजना गर्न यसले धेरै नै सहज हुने डा. श्रेष्ठको भनाइ छ ।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का संस्थापक प्राध्यापक डा. भगवान कोइरालाको पहलमा विशेष गरी विपन्न बालबालिकाहरूमा श्रवण अक्षमता निम्त्याउने कानको अवस्थाहरू पहिचान गर्ने अभियान चलाउँदैछौं र यसले सहयोग पुग्ने विश्वास छ, श्रेष्ठले भन्नुभयो । मोबाइल अडियोमेट्री भ्यानको प्रयोगबाट नमुनाको रुपमा केही विद्यालयका बालबालिकाहरुको कान परीक्षण गरिसकिएको छ ।
अभियान अन्तर्गत पहिलो चरणमा विद्यालयका नर्स र शिक्षकहरूको सहयोगमा बालबालिकाहरूको पूर्व–स्क्रिनिङ गरिनेछ । थप जाँच गर्नुपर्ने अवस्थाका बालबालिकाहरुका लागि विद्यालयमा नै पुगेर मोबाइल अडियोमेट्री भ्यान प्रयोग गरी बाल अस्पतालका अडियोलोजिस्टहरूको टोलीद्वारा कान परीक्षण र श्रवण जाँच गरिनेछ ।
यसपछि थप उपचार तथा शल्यक्रिया आवश्यक भएमा बाल अस्पतालमा ल्याएर अन्य जाँच र समस्या सामधानका लागि प्रयास गरिने श्रेष्ठले जानकारी दिए ।
विपन्नहरुको लागि निःशुल्क उपचार सेवा समेत दिदै आएको किओच दमक बाल अस्पतालले बालबालिकाहरुमा श्रवण शक्ति कमजोर भएको पाइएको खण्डमा थप उपचार तथा परामर्श सेवा दिने जनाएको छ । बालबालिकाहरु बिद्यालयमा अध्ययन गरिरहेको समयमा शिक्षकले पढाएको वा भनेका कुराहरु प्रष्टसँग नसुनिरहेको पनि हुन सक्ने भएकाले शिक्षकहरुले श्रवण शक्ति कमजोर भएका बालबालिकाको पहिचान अलि नजिकबाट गर्न सक्ने भएकाले उनीहरुको पहिचानमा सहजताका लागि बिद्यालय पुग्ने कार्यक्रम बनेको हो ।
किओचले यस अघि स्वास्थ्यकर्मीहरुलाई पनि यस किसिमको विशेष तालिम दिएर लक्षित बालबालिकाको पहिचान गर्न सहज बनाएको बताइएको छ ।
कमल नगर अस्पतालका स्वास्थ्य निरिक्षक दिपक दाहालले बालबालिकाको स्वास्थ्यलाई विशेष ध्यान दिँदै कमल गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई किओच दमक बाल अस्पतालद्धारा सञ्चालित विशेष तालिममा यसअघि सहभागी गराइएको बताए । उनले भने– बालबालिकाको स्वास्थ्य राम्रो नभए सम्म सहजरुपमा पढ्न पनि सक्दैनन । शिक्षकले भनेको कुरा सुन्न नसक्ने समस्या भएको अवस्थामा त झनै ठुलो समस्या हुन्छ त्यसैले यो कार्यक्रम निक्कै राम्रो छ ।
१० प्रतिशतमा श्रवण शक्ति कमजोर
किओच दमक बाल अस्पतालले दमकका दुई बिद्यालयमा हालसालै सञ्चालन गरेको घुम्ती शिविरमा परिक्षण गरिएका बालबालिकाहरु मध्ये १० प्रतिशतमा कान कम सुन्ने समस्या रहेको पाइएको छ ।
अस्पतालका मेसु डा. जयमणी श्रेष्ठका अनुसार एक बिद्यालयमा पहिलो चरणको स्क्रिनिङमा परेका ५० बिद्यार्थीहरुमा गरिएको यस किसिमको परिक्षणका क्रममा ५ जना बालबालिकामा विविध कारणले कान कम सुन्ने समस्या पाइएको छ । अर्को एक बिद्यालयका ४० जनामा गरिएको परिक्षणमा पनि ४ जनामा यो समस्या देखिएको छ ।

Facebook Comments Box