कमल/ कमल गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुको अवस्था र बिद्यार्थीको समस्या बुझ्न स्थानीय सरकार प्रमुख आफैं बिद्यार्थीहरुसँग प्रत्यक्ष साक्षत्कार गरिरहेका छन् ।
गाउँपालिकाको शिक्षा समिति संयोजकको समेत भुमिकामा रहेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राई स्थानीय सरकारबाट भएका शिक्षा सम्बन्धिका निर्णयहरुको कार्यान्वयनको अवस्था र बिद्यार्थीहरुको समस्यालाई बुझ्न कक्षा कोठामै पुग्ने गरेका हुन् ।

सोमबार एकैदिन कमल गाउँपालिकाका चार वटा सामुदायिक बिद्यालयमा पुगेर गाउँपालिका अध्यक्ष राईले बिद्यार्थीहरुसँग कक्षाकोठामै साक्षात्कार गरेका गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सूर्य न्यौपानेले जानकारी दिए ।
बिद्यालयहरुको भौतिक तथा शैक्षिक अवस्थाबारे नजिकबाट बुझ्ने गरेका अध्यक्ष राई बिद्यार्थीहरुका समस्या सुन्न कक्षा कोठा–कोठामा पुग्ने गरेका हुन् ।

नियमित सेडुल नै नभए पनि अभिभावक, बिद्यार्थी, शैक्षिक सरोकारवालाहरु जो कोहीबाट बिद्यालयहरुको शैक्षिक वातावरण र कृयाकलापहरुका बारेमा गुनासो आए तत्काल सुनुवाई गरिने अध्यक्ष राईको भनाई छ ।
सोमबार अध्यक्ष राई, शिक्षा शाखा प्रमुख न्यौपाने, भौतिक पूर्वाधार शाखाका इञ्जििनियर, शिक्षा समितिका सदस्यहरु लगायतको टोलीले कमला मदन आश्रित स्मृति माध्यमिक बिद्यालय, कञ्चनजंघा आधारभूत बिद्यालय सहिद धर्मभक्त माध्यमिक विद्यालय र ज्योति आधारभूत बिद्यालयमा पुगेर बिद्यालयहरुमा भइरहेको रंगरोगन, इ हाजिरीको प्रभावकारिता, भौतिक पूर्वाधारहरुको अवस्था तथा समग्र शैक्षिक अवस्थाका बारेमा जानकारी लिएको थियो ।

सामुदायिक विद्यालयहरुको अनुगमन भित्र हामीले धेरै सुचकहरु समावेश गरिएको र ति सूचकहरुको अवस्था एकैपटक परीक्षाको नतिजाबाट मात्रै बुझ्न नसकिने भएकाले बिद्यार्थी, शिक्षक, कर्मचारीहरु तथा शैक्षिक सरोकारवालाहरुसँग प्रत्यक्ष साक्षात्कार गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । परीक्षा त एउटा प्रकृया हो समग्रमा शैक्षिक वातावरण राम्रो बनाउने कुरामा समाजका सबै पक्षको भुमिका सकारात्मक हुनुपर्छ– अध्यक्ष राईले भने ।

सोमबार गरिएको चार वटा बिद्यालयको अनुगमनका क्रममा १० जना बिद्यार्थीहरुले खुलेर अध्यक्ष राईसँग शैक्षिक वातावरणका बिषयमा प्रतिक्रिया राखेका छन् । बिद्यार्थीहरुले बिद्यालयहरुमा रहेको विशेष गरी खानेपानी, शौचालय र पठनपाठनमा रहेको प्राविधिक समस्याहरुका बिषय राख्ने गरेका अध्यक्ष राईले बताए । अध्यक्ष राईले भने– बिद्यार्थीहरुले राखेका आधारभूत आवश्यकताहरुको समाधान तत्कालै गर्ने गरेका छौं ।

गाउँपालिकाले गत बर्षदेखिनै सामुदायिक बिद्यालयहरुलाई भौतिक रुपमा समेत आकर्षक बनाउने र समानता झल्काउने उद्धेश्यले बिद्यालयहरुमा एकै रंगको प्रयोग गर्ने अभ्यास गरिरहेको छ ।
सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको खेलप्रतिको रुची र खेलकुदको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिका अध्यक्ष राईले अब भलिबल खेलको प्रशिक्षकनै खटाइने बताएका छन् ।
बिद्यार्थीहरुको खेलकुद प्रतिको रुची र खेलकुदको महत्वलाई ध्यानमा राखेर केही महिना भित्रै कमलका सामुदायिक बिद्यालयहरुमा अब भलिबल खेल प्रशिक्षक पनि राखिनेछ– अध्यक्ष राईले भने ।

Facebook Comments Box