दमक/   झापाको कमल गाउँपालिकाले कृषि क्षेत्रमा स्थानीय सरकारको लगानी सोझै किसानको हात हातमा पुरयाउन थालेको छ ।

कृषि क्षेत्रमा दिइने अनुदान अन्तर्गत धेरै जसो पालिकाहरुले कृषि औजार , मल, बिउ आदी खरिद गरेर किसानलाई दिने किसिमका कार्यक्रमहरु ल्याउँदै आएकोमा कमल गाउँपालिकाले यस बर्षदेखि सोझै किसान लाभान्वित हुने किसिमको कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले कृषि क्षेत्रमा फरक र नमुना किसिमका अभ्यास गरिनु पर्ने आवश्यकता देखेरनै व्यवसायिक तरकारी खेती गर्ने किसानलाई उत्पादनमा आधारित नगद अनुदानको व्यवस्था मिलाइएको बताए ।
गाउँपालिकाका अनुसार चालू आर्थिक बर्ष २०८१/ ०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत यसपटक ७० जना किसानलाई उत्पादनका आधारमा कूल ७ लाख रुपैयाँ भन्दा बढी नगद अनुदान वितरण गरिएको छ ।

अनुदान रकम प्राप्त गर्नका लागि गाउँपालिकाले न्यूनतम ५ कठठ जग्गामा तरकारी खेती लगाएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
सामान्य दैनिक भान्सामा चाहिने तरकारी गाउँमा जसले पनि लगाएको हुन्छ तर हामीले व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई मात्रै प्रोत्साहन गर्ने कार्यक्रम ल्याएका हौं । सिमित बजेट र स्रोत साधनका कारण अनुदान रकम धेरै दिन त सकिएको छैन तर पनि किसानलाई प्रोत्साहन गर्ने स्थानीय सरकारको नीति अनुसार थोरै भए पनि सहयोग गरेका छौं– अध्यक्ष राईले भने ।

गाउँपालिकाको कृषि शाखाका अनुसार सात वटै वडाका ७० जना किसानले न्यूनतम साढे सात हजार रुपैयाँदेखि ४५ हजार रुपैयाँ सम्मको बैकिङ चेक सम्बन्धित किसानलाई हस्तान्तरण गरिएको छ । ६ चैतमा गाउँपालिकाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राई , उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले सो बैकिङ चेक हस्तान्तरण गरेका थिए ।

यस किसिमको नगद अनुदानका कारण किसानहरुबीच व्यवसायिक रुपमा कृषि उपज उत्पादनमा समेत स्वस्थ प्रतिस्पर्धाको भावना बिकास गराउने र यसले कमल गाउँपालिकामा तरकारी उत्पादनको मात्रा बढ्न गई आसपासका बजारमा रहेको तरकारीको माग समेत धान्न सहयोग पुरयाउने गाउँपालिकाले विश्वास लिएको छ । कमलमा उत्पादित तरकारीमा बिषादीको प्रयोग नगर्न आव्हान गर्दै गाउँपालिका अध्यक्ष राईले सो अवसरमा किसानहरुलाई मानिसको स्वास्थ्यलाई ध्यानमा राखेर कमल गाउँपालिकामा रहेको अग्र्यानिक उत्पादनमा जोड दिइने नीतिमा सहयोग पुरयाउन अपिल गरे । सो अवसरमा वडाध्यक्षहरु केदार कटुवाल, नरेन्द्र भट्टराई, कृषि शाखा प्रमुख महेन्द्र बोहोरा लगायत पनि सहभागी थिए ।

Facebook Comments Box