दमक/प्रथम धिमाल राष्ट्रिय फुटबल कपको उपाधीका लागि झापाको दमक नगरपालिका र मोरङको कानेपोखरी नगरपालिका भिड्ने भएका छन् ।
विर्तामोडस्थित डोमालाल राजबंशी रङ्गशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार (भोली ) हुने फाइनलमा दमक र कानेपोखरीबीच हुने प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।
पहिलो सेमीफाइनलमा कानेपोखरीले पथरीलाई १–० ले र दोस्रो सेमीफाइनलमा दमकले उर्लाबारीलाई २–० ले पराजित गर्दै फाइनलमा भिडन्तको पक्का गरेका हुन् ।
धिमाल जातिका युवाहरुमा खेलकुद विकास गराउने उद्धेश्यले धिमाल सेवा समाजको आयोजनामा भएको सो प्रतियोगितामा झापा, मोरङ र भारतमा बसोबास गर्ने धिमाल जातिका युवाहरुको १० टिमले सहभागिता जनाएका आयोजक समितिका मणिराज धिमालले जानकारी दिनु भयो ।
फाइनल खेलका विजेताले नगद ५० हजार ५ सय ५५ रुपैँया र उपविजेताले नगद ३० हजार रुपैँया, शिल्डकप र प्रमाणपत्र प्राप्त गर्न सक्ने आयोजक समितिका अध्यक्ष मन बहादुर धिमालले जानकारी दिनुभयो ।
