दमक/ झापाको कमल गाउँपालिका वडा नम्बर २ मा सञ्चालित बिद्यालयमा बैशाख महिनाको बिद्यार्थी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०७९ को स्थानीय निर्वाचनपछि निर्वाचित जनप्रतिनिधि टोलीले वडा अध्यक्ष अशोक सुब्बाको नेतृत्वमा शुरु गरेको विद्यालयमै पुगेर मासिक रुपमा बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम अन्तर्गत बैशाख महिनामा वडाका तीन सामुदायिक र तीन निजी बिद्यालयहरुमा सम्पन्न भएको हो ।
कमल–२ स्थित महेन्द्र रत्न मावि (समयगढ), कमला मदन आश्रित स्मृति मावि (क्याम्पा), श्री ज्योति मावि (भुत्लुङ), नवोदय विद्यामान्दिर, इन्द्र लोहनी बोर्डिङ स्कुल र श्री पाथीभरा इङ्लिस बोर्डिङ स्कुल गरी छ वटा विद्यालयमा नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको छ ।

सो अन्तर्गत बैशाख महिनामा १५ गते ज्योति मावि, श्री इन्द्र लोहनी बोर्डिङ स्कुल बैशाख २८ गते महेन्द्र रत्न मावि, कमला मदन आश्रित मावि र बैशाख ३० गते नवोदय विद्यामान्दिर र पाथीभरा बोर्डिङ स्कुलमा शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
कमल नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दिपक प्रसाद दहाल, सि.अ.न.मि. निरीक्षक इमानसरी राई, र अ.न.मि. अन्जना सापकोटा लगायतको टोलीले विद्यालयमै पुगेर विद्यार्थीहरूको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य परामर्श प्रदान गरेको जनाइएको छ । स्वास्थ्य परिक्षणका सिलसिलामा बालबालिकाहरूमा रुघाखोकी, टाउको दुखाइ, पेट दुख्ने, आँखा, दाँत र कानका समस्या, ज्वरो, पोषण सम्बन्धी समस्याहरु देखिएका छन् ।

बिद्यालयहरुमा सञ्चालित यस किसिमका स्वास्थ्य परिक्षण शिविरले वडाबासी बालबालिकाहरुको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको वडाध्यक्ष अशोक सुब्बाको भनाई छ । वडाध्यक्ष सुब्बासँगै वडा सदस्यहरु महेन्द्र खत्री, कल्पना राई, सम्झना रणपहेली लगायत बिद्यार्थी स्वास्थ्य परिक्षणमा सक्रियता पूर्वक लाग्नाले यो कार्यक्रमको कार्यान्वयन प्रभावकारी बनेको हो ।
शिविरमा उपस्थित हुँदै विद्यार्थीहरू, शिक्षकहरू र अभिभावकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै स्वास्थ्य सचेतनालाई गाउँमै स्थापित गर्ने प्रयास गरेका छौं– वडा सदस्य खत्रीले भने ।

अध्यक्ष राईले गरे प्रशंसा
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई गाउँपालिकाले नागरिकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको अवस्थामा वडा नं. २ मा सञ्चालन भइरहेको विद्यालय स्वास्थ्य शिविरले महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै खुलेर प्रशंसा गरेका छन् । विद्यालयमै पुगेर स्वास्थ्य सेवासँगै स्वास्थ्य सम्बन्धि जनचेतनाको पनि बिकास हुन्छ – अध्यक्ष राईले भने यो कार्यक्रम उदाहरणीय छ । सोही प्रकृतिको कार्यक्रम वडा नम्बर १ मा पनि भइरहेको अध्यक्ष राईले बताए । यस्तो कार्यक्रमलाई पालिकाका सबै वडा र गाउँ टोलसम्म पुरयाउने स्थानीय सरकारको नीति रहेको अध्यक्ष राईले बताए ।
कमल नगर अस्पतालका प्रमुख, स्वास्थ्यकर्मी टोली, तथा समन्वयकर्ता सबैले यो कार्यक्रमलाई जनस्वास्थ्यको स्थायी अभ्यासको रूपमा अघि बढाउन भुमिका निर्वाह गर्दै आएका छन् । अस्पतालको नियमित सहभागिता, जनप्रतिनिधिहरूको साथ र विद्यालयको सहयोगले कमल–२ मा विद्यालयमै स्वास्थ्य सेवा अभियान सफल अभ्यासको रूपमा स्थापित भएको छ ।