दमक/झापाको दमक ५ स्थित पृथ्वी आधारभुत विद्यालयमा आज आईतबारदेखि दिपिनी मन्टेश्वरी सञ्चालनमा आएको छ ।

सरकारको संघीय शिक्षा कार्यक्रम अन्तर्गत सो विद्यालयमा भौतिक पूर्वाधारयुक्त मन्टेश्वरी सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाले जानकारी दिनु भयो ।
सो मन्टेश्वरीको आज दमक नगरपालिकाकी उपमेयर तथा शिक्षा संयोजक गीता अधिकारीले उद्घाटन गर्नुभयो । उहाँले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा मन्टेश्वरी अवधारणा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष समेत रहनु भएका सो वडाका वडाध्यक्ष इन्द्र गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सो मन्टेश्वरीको ल्यावका लागि प्राप्त विभिन्न प्रयोग सामाग्रीहरु समेत हस्तान्तरण गरिएको थियो ।

सो मन्टेश्वरीमा २ जना महिला शिक्षकलाई निर्देशिकाका रुपमा जिम्मेवारी दिइएको छ । दिपिनी विद्यालयको दिपिनी मन्टेश्वरीमा ३ बर्ष मुनिका ४१ विद्यार्थीले अहिले अध्ययन गरिरहेका जनाइएको छ । वडाध्यक्ष गुरुङले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गरेर अभिभावक तथा विद्यार्थीहरुको आकर्षण बढाउन यस किसिमका कार्यक्रमले महत्वपूर्ण योगदान दिने बताउनु भयो ।
