विष्णु पौडेल
झापा जिल्लामा थुप्रै विकासे योजना तथा परियोजनाहरुको चर्चा यतिबेला चुलिएको छ । राष्ट्रिय दैनिक पत्रिकादेखि विभिन्न अलनाइन न्यूज पोर्टलहरुमा दमकमा विकासका लागि अरबौं अरब बजेट छुट्टिएको समाचारले उच्च स्थान पाईरहेका छन् । बजेट विनियोजन सकारात्मक छ ।

बजेट कस्ता योजना, परियोजनामा विनियोजन भईरहेको छ ? तिनले दिने प्रतिफल के हो ? ति योजनाहरुको दीर्घकालिन प्रभाव के के मा कस्तो कस्तो पर्नेछ ? र तत्कालिन आवश्यकताहरु के हुन ? यावत बिषयहरुमा गहन, अर्थपूर्ण बहस हुन आवश्यक छ ।
स्वभाविक रुपमा आफूले चुनेर पठाएको प्रतिनिधि मुलुककै प्रधानमन्त्री भईसकेपछि नागरिकहरुमा विकासको चाहना हुन्छ नै । झापाको निर्वाचन क्षेत्र नं ५ का मतदाताले लगभग २० हजार मतान्तरसहित विजयी गराएर पठाएका प्रतिनिधि सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीको पदिय मर्यादाको सम्मानका लागि पनि यस क्षेत्रमा अर्बौको राष्ट्रिय अन्तराष्ट्रिय बजेट भित्रिनु आवश्यक थियो । र त्यो बजेट भित्रिने ढोका खुल्ला मात्रै भएको छैन कार्यान्वयनको चरणनै शुरु भईसकेको छ । यहाँ सम्मको अवस्थालाई प्रधानमन्त्रीका क्षेत्रबासीले गर्व महसुस गर्नैपर्छ ।
प्रधानमन्त्री पद झापा वा दमकबासीको पद होइन यो सिंगो नेपाल र नेपालीको अभिभावकत्व भएको पद हो । चाहे कर्णालीका हुन चाहे महाकालीका चाहे ओलाङचुङवासी सबैका साझा प्रधानमन्त्रीका रुपमा हुनुहुन्छ केपी शर्मा ओली । संघियताको मर्म र भावना भनेको विकेन्द्रिकरण पनि हो । त्यो शासन सत्ताको पनि विकेन्द्रिकरण हो, विकासे योजनाहरुको विकेन्द्रिकरण र बजेटको विकेन्द्रिकरण पनि हो । दमक र आसपासका ठाउँमा विकासे योजनाहरुको आवश्यकतानै नभएको हो त पक्कै होइन । प्रधानमन्त्री ओलीका क्षेत्रबासीहरु सबैले परिश्रमका भरमा बिहान, बेलुका छाक टार्ने अवस्था छ त ? बिहान बेलुकाको छाक टार्नु मात्रै विकास हो त ? पक्कै होइन । राज्यको लगानीको प्राथमिकता के हुने ? बाटो घाटो पूल, पुलेसा, उद्योग , कलराखाना , सहज र सरल स्वास्थ्य , शिक्षाको सुविधा नागरिकको आवश्यकता हो कि होइन ? यदि नागरिकहरुका लागि न्यूनतम आधारभुत विकासका सूचकहरु पूरा भए भने आवश्यकता मनोरञ्जन र अन्य व्यापारिक क्षेत्रमा पनि हुन सक्दछन् । विकास निरन्तर चलिरहने प्रकृया हो र आवश्यकता मानिसका असिमित हुन्छन् । तिनै आवश्यकताहरुको छनौट कसरी गर्ने भन्ने मुख्य कुरा हो । यहाँ सम्माननिय प्रधानमन्त्रीका क्षेत्रमा चलिरहेका केहि विकासे योजनाहरुको बारेमा विमर्श गरौं ।
दमकको ३ नम्बर वडामा पर्ने दापगाछीमा शुरु भएको भ्यु–टावर २५ तले बनाउने योजना छ ।
संघीय सरकार अन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले यो योजनाका लागि १ अर्ब ५४ करोड भन्दा बढी लागतको ठेक्का लगाईसकेको छ । पाँच बिघा जमिनमा बन्ने यो योजनाका लागि दमक नगरपालिकालाई स्थानीयहरुले निःशुल्क जग्गा दिएको सार्वजनिक भईसकेको छ । यो टावर परिसरमा बगैंचा, पोखरी, फलैंचा, बालउद्यान आकर्षक मञ्च बन्ने कुरा बाहिर आएको छ । त्यतिमात्रै होइन अन्डरग्राउन्ड पार्किङ, व्यवसायिक पसल, सेमिनार हल, प्रदर्शनी हल, सिनेमा हल लगायत बन्दैछन् । यो भ्यू टावर र ति व्यवसायिक प्रयोजनका पसल, फिल्म हल आदि यहाँको अहिलेको टड्कारो आवश्यकता हो त ? त्यहाँको उर्वरभुमीलाई कृषि उत्पादनमा उपयोग गर्नु ठिक थियो कि राज्यले व्यापारिक प्रयोजनका संरचना बनाउन यतिको अर्बौ बजेट छुट्टयाउन आवश्यक थियो ?
औद्योगिक क्षेत्रलाई जग्गाकै अभाव
झापा क्षेत्र नं ५ अन्तर्गतका दमक, कमल र गौरादहको समेत क्षेत्रफल ओगट्ने भनिएको ‘चाइना –नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ निर्माणका लागि सम्बन्धित लगानीकर्तालाई ६४ अर्ब रुपैयाँ लगानी गर्न सरकारले गत साउनमा स्वीकृत दिने निर्णय गर्यो ।
झापाको रतुवामाई वृक्षारोपण आयोजना हातामा औद्योगिक करिडोर स्थापनाको चर्चा केहि बर्ष चलेपनि वन क्षेत्रमा औद्योगिक करिडोर बन्न सम्भावना भएन । अहिले अर्कोतिर बन्ने भनिएको औद्योगिक पार्कका लागि आवश्यक पर्ने भनिएको २ हजार विगाहा जमिन त्यहाँ उपलब्ध हुने सम्भावना क्षिण बन्दै गएको छ । सो प्रयोजनका लागि हाल ३ सय ४२ विगाहा जग्गा मात्रै अधिग्रहण भएको छ । प्रारम्भमा सन् २०१७ मा चीनियाँ कम्पनीको टोलीले पार्क निर्माणको सम्भाव्यताबारे स्थलगत निरिक्षण गरेपछि त्यस क्षेत्रमा औद्योगिक क्षेत्रको चर्चा चुलिँदो छ । अहिले त्यहाँ ‘चाइना –नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ निर्माण गर्न औद्योगिक दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिलाई जिम्मा दिइएको छ ।
चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलप्मेन्ट जोन जिङ –पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलप्मेन्ट कम्पनी लिमिटेडले त्यहाँ औद्योगिक पार्क बनाउने जनाइएको छ । करीब तीन खर्ब ३३ अर्बको यो योेजना मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हुने बताइएको छ ।
औद्योगिक पार्क यहाँको आवश्यकताका रुपमा चर्चा गरिएको योजना हो । यसका लागि पहिलो आवश्यकता भनेकै जमिन हो । पर्याप्त जमिनको अभावमा यो योजना गुम्ने हो कि भन्ने खतरा देखिन्छ । सरकारको ध्यान यो योजनाका लागि चाहिने न्यूनतम जग्गाको व्यवस्थापनमा जानु पर्छ कि पर्दैन ? उद्योग स्थापनाले यहाँको रोजगारीको सम्भावनालाई बढाउनेछ । रोजगारको अभावमा खाडीमा गएर पसिना बेचिरहेका नेपालीको पसिना यहाँ बगाउन सकिने र मुलुककै आर्थिक समृद्धिको ढोका खुल्ने कुरालाई कसैले नकार्न सकिन्न । उद्धेश्य अनुरुप र गरिएका बाचा अनुसारको काम गर्ने परम्पराको थालनी भने हुनु नितान्त आवश्यक छ ।
अर्को सपिङ कम्प्लेक्समा नगरको पौने ३ करोड
ठुला परियोजनाहरुमा संघीय सरकार र विदेशी कम्पनीहरुको लगानी रहेको भएपनि यहाँका साना भनिएका तर करोडौं लागत पर्ने केहि व्यवसायिक प्रयोजनाका संरचना निर्माणमा स्थानीय सरकारको समेत लगानी रहेको छ । 
दमकको मुटु मानिने वडा नं ६ मा नगरपालिकाको २ करोड ७१ लाख रुपैयाँ र जिल्ला समन्वय समितिको १ करोड लागतमा सपिङ कम्प्लेक्स निर्माणाधिन अवस्थामा छ । दमक सपिङ कम्प्लेक्स नाम दिइएको सो योजनामा गत जेठमा शुरु भएको हो । २०७७ सालको मसिंर मध्यतिर सम्पन्न हुने भनिएको पुरानो सब्जी बजार नजिकैको सो योजना अहिले द्रुत गतिमा सञ्चालन भईरहेको छ ।
यस अघि दमकको मुख्य बजार क्षेत्रमै एक करोड २५ लाख रुपैयाँको लागतमा नमुना मार्ग निर्माण गरिसकेको छ । त्यस्तै दमक –७ को पुरानो पञ्चायत रजत स्तम्भ भएको ठाउँमा करिब ४० लाख रुपैयाँको लागतमा गुलाब बगैंचा उदान अर्थात ‘रोज गार्डेन पार्क’ निर्माणको काम चालू छ ।
पशु बजारमा संरचना, बजार सडकमै
देशकै पुरानो र ठुला मध्येमा पर्ने दमकको पशुहाटको स्तरीकरण गर्दै विश्व बैंकको करिब १५ करोड लगातमा संरचनाहरु बनाइएपनि अधिकांश संरचनाको उपयोग नै हुन सकेको छैन । त्यहाँ पशु बजार भित्र संरचनाहरु बनाइएपनि पशुहाट भने सडकमा नै लाग्दै आएको छ । हरेक बुधबार बजार क्षेत्रमा यातायात अस्तव्यस्त हुने गरि पशुपंक्षी बेच्न राखिएको भेट्न सकिन्छ । नगरपालिकाको स्वामित्वमा रहेको करिब डेढ बर्ष अघि नै सो पशुहाटको नयाँ संरचना नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।