दमक/झापाको गौरीगञ्ज १ माहाभारास्थित बाल कल्याण माविका भुपु विद्यार्थी र शिक्षकहरुबीच पर्नुमिलन, सांगितिक कार्यक्रमसहितको पारिवारिक वनभोजको अन्तिम तयारी भएको छ ।
भुपु विद्यार्थीहरुको सक्रियता र विद्यालयसंगको समन्वयमा यहि आउँदो शनिबार भ्रमण बर्ष २०२० लाई समेत मध्यनजर गर्दै पर्यटकीय क्षेत्र सताक्षीधाममा हुने सो कार्यक्रमको तयारी ९० प्रतिशत पूरा भएको कार्यक्रम व्यवस्थापनमा सक्रिय पूर्व विद्यार्थी भवानी काफ्लेले जानकारी दिनु भयो । कार्यक्रममा सहभागिताका लागि झापा, मोरङ, सुनसरी, काठमाडौं लगायतका विभिन्न ठाउँमा बसोबास गर्दै आएका भुपु विद्यार्थीहरुले आफ्नो नाम समावेश गराएका काफ्लेले बताउनु भयो । कार्यक्रममा सहभागि भुपु विद्यार्थीहरुको अभिलेख समेत दस्तावेजका रुपमा राखिने भएकाले सबै भुपु विद्यार्थीहरुले सो कार्यक्रमलाई महत्वका साथ लिएको उहाँले बताउनु भयो र
कार्यक्रममा भुपु विद्यार्थी र उनीहरुका छोराछोरीहरुबाट विभिन्न कलात्मक र सांगितिक मनोरञ्जनपूर्ण प्रस्तुतिहरु समेत प्रस्तुत गर्ने व्यवस्था मिलाइएको कार्यक्रमको व्यवस्थापनमा सक्रिय अर्का भुपु विद्यार्थी गोविन्द निरौला ( राजु) ले जनाउनु भयो ।

यस अघि विभिन्न रुपमा भुपु विद्यार्थीहरुले विद्यालय र समुदायमा गर्दै आएको योगदानका बिषयमा समेत कार्यक्रममा समीक्षा गर्दै आगामी कार्यक्रमहरुलाई व्यवस्थित रुपमा अघि बढाउन भुपु विद्यार्थीहरुको साझा संस्था गठनका लागि तदर्थ समितिको समेत प्रस्ताव गरिने कार्यक्रम व्यवस्थापनमा सक्रिय भुपु विद्यार्थी सुवास तामाङले जनाउनु भयो ।
सो विद्यालयमा यस अघि भुपु विद्यार्थीहरु दमन्ता खरेल, नेत्र पौडेल, सुवास तामाङ, देवेन्द्र लोहार तथा स्थानीय सामाजिक व्यक्तित्व तथा भुपु विद्यार्थीका अभिभावक विश्व प्रसाद अधिकारी लगायतले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक भीम प्रसाद कोइरालाले जानकारी दिनु भयो ।
२०४८ सालदेखि माध्यमिक तहको पठनपाठन शुरु भएको सो विद्यालयको स्थापना २०१७ सालमा स्थानीय स्व.छेदालाल राजवंशी, श्रीप्रसाद राजवंशीसहितको अगुवाईमा भएको थियो ।


विद्यालयको लामो इतिहास पछि हुन लागेको यो ऐतिहासिक कार्यक्रमको महत्व उच्च रहेको बताउँदै हाल धरानमा बसोबास गर्दै आउनु भएका विद्यालयको पहिलो एसएलसी ब्याचका भुपु विद्यार्थी कमल भट्टराइले यस किसिमको कार्यक्रमले आफूहरु जस्ता भुपु विद्यार्थीहरुलाई उत्साहित बनाएकाले आफ्नो तर्फबाट कार्यक्रममा सक्दो सहयोगको प्रतिबद्धता जनाउनु भएको छ । पहिलो ब्याचको एसएलसी उत्तिर्ण भुपु विद्यार्थी कल्याण दाहालले यस किसिमका कार्यक्रमका माध्यबाट आपसी मित्रता प्रगाढ हुनुका साथै संस्थागत विकासमा सहयोग पुरयाउने विचार व्यक्त गर्नुभयो ।

Facebook Comments Box