काठमाडौं/ अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माताद्धय जयन श्रेष्ठ र रुपेश खड्गीले अनमोलविरुद्ध कारवाहीको मागसहित केसी विरुद्ध महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा उजुरी हालेका हुन् ।


अभिनेता अनमोल केसी यतिबेला नयाँ चलचित्रको छायांकनका लागि पोखरामा छन् । शुक्रबार मात्र उनी चलचित्र ‘ए मेरो हजुर—४’ को छायांकनका लागि पोखरा गएका हुन् । जयन र रुपेशले निर्माण गर्ने भनिएको चलचित्र ‘धुपौरे’ लागि अभिनेता अनमोल केसी ४० लाख पारिश्रमिकमा गत ३ असोजमा अनुबन्धित भएका थिए ।
मंसिरबाट छायांकन सुरु गर्ने भनिएको चलचित्रको स्कृप्ट चित नबुझेपछि अनमोलले ‘धुपौरे’ नखेलेका हुन् । फिल्मको स्कृप्ट परिमार्जन गरेको खण्डमा मात्र काम गर्ने अनमोलले बताए ।

त्यसपछि अनमोल अन्य दुईवटा सिनेमा ‘ए मेरो हजुर—४’ र ‘पारस’ मा अनुबन्धित भइसकेका छन् ।
चलचित्रका लागि ५ लाख रुपैयाँ पेस्की लिएर फिल्मको काम पनि सुरु नगरेको र अन्य सिनेमामा धमाधम काम सुरु गरेको भन्दै ‘धुपौरे’का निर्माताले अनमोलविरुद्ध उजुरी दिएका छन् । अनमोलले समयमै काम नगर्दा आफूहरुलाई करिब ३० लाख रुपैयाँ घाटा भएको यी निर्माताको भनाइ छ ।

Facebook Comments Box