दमक/झापाको कमल ५ मा लामो समयदेखि जग्गाको स्वामित्वबिहिन अवस्थामा अव्यवस्थति रुपमा बसोबास गर्दै आएका सर्वसाधारणहरुले आज पाडाजुँगीस्थित ५ नम्बर वडा कार्यालय घेराउ गर्दै जग्गाको स्वामित्व प्रदान गर्न सरकारसंग माग गरेका छन् ।

स्थानीयहरुले बिहान करिब ३ घण्टा सम्म वडा कार्यालय परिसरमा धर्ना दिनुका साथै वडाध्यक्ष डम्बर बहादुर निरौलालाई आफूहरुको माग समेटिएको ज्ञापन पत्र समेत बुझाएका छन् ।


नेपाली कांग्रेसका एकराज प्याकुरेल, नेकपाका पुण्य प्रसाद खतिवडा, राप्रपाका बीरेन्द्र सुब्बा, समाजवादी पार्टीकी बबिता आङदेम्बे, वडा सदस्यहरु खगेन्द्र तिवारी र चुरुहाङ लावती लगायतको उपस्थिती र टिकाराम भट्टराइ, बसन्त धिमाल लगायतको अगुवाईमा वडाध्यक्ष निरौलालाई बुझाइएको ज्ञापन पत्रमा सो वडा क्षेत्र भित्र रहेको जग्गाको स्वामित्व सम्बन्धि समस्याको तत्काल समधान गर्न, बैकल्पिक बसोबासको व्यवस्था नगरी बस्ती नउठाउन पनि माग गरिएको छ ।


उनीहरुले नागरिकलाई चाहिने खाना, नाना र छानाको व्यवस्था गर्नुपर्ने संविधान प्रदत्त अधिकारको ख्याल राख्न पनि स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । सो वडामा कूल २७३ परिवारमा त्यस किसिमको अव्यवस्थित बसोबास सम्बन्धिको समस्या रहेको नेकपाका स्थानीय कार्यकर्ता तथा लगनशील कृषि सहकारीका अध्यक्ष एलबी विष्टले बताउनु भयो । उहाँले त्यहाँको समस्याको बिषयलाई लिएर अहिले बनिेका भुमी सम्बन्धिका आयोगहरु, स्थानीय सरकार, प्रदेश सरकार र प्रधानमन्त्री केपीशर्मा ओलीको समेत ध्यानाकर्षण गराइसकिएको बताउनु भयो ।

सो अवसरमा टिकाराम भट्टराइले वडाध्यक्ष निरौलालाई ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो । ज्ञापन पत्र ग्रहण गर्दै वडाध्यक्ष निरौलाले विकल्पका बिषयमा पटक पटक स्थानीय सरकारले छलफल गर्दै आएको र सशस्त्र प्रहरीको स्वामित्वमा रहेको जग्गा खाली गर्ने बिषयमा भएको छलफलमा सम्बन्धित परिवारले नै बारम्बार ठाउँ खाली गर्ने बिषयमा सहमति गरेको स्मरण गराउनु भयो । उहाँले स्थानीय सरकार कानुनी दायरा भित्र रहेर वडाबासीहरुको बसोबासको व्यवस्था मिलाउन तयार रहेको पनि उल्लेख गर्नुभयो ।

 

Facebook Comments Box