दमक/ चीन, उत्तर कोरिया लगायतका मुलुकमा देखिएको कोरोना भाइरसको प्रभाव नेपाली बजारमा परिरहेको छ ।
पूर्वका बजारहरुमा कोरोनाको त्रास फैलाएर गिरोहनै विभिन्न आयातित सामानहरुको अभाव हुन सक्ने भन्दै सामाजिक सञ्जालहरु मार्फत भ्रामक प्रचारमा लागिरहेको छ ।
त्यस्तो गिरोहले प्रविधि तथा इन्टरनेटको प्रयोग गरी विभिन्न त्रासदीपूर्ण श्रव्यदृश्यका सामाग्री, फोटो आदि डिजाइनिङ गरेर सञ्जालहरुमार्फत प्रचार गरिरहेको छ ।
यसबाट बच्न दैनिक रक्सी पिउनुपर्ने जस्तो भ्रमपूर्ण प्रचार समेत गरिरहेको छ । कुनै व्यापारिक गिरोह भने बजारमा उपलब्ध सामानहरुको पनि अभाव हुने भन्दै सर्वसाधारणलाई पर्याप्त सामान किनेर भण्डार गर्न उक्साइरहेको छ ।
सिलिण्डर ग्याँस, नुन, चिनी, खाने तेल तथा पेट्रोलियम पदार्थको अभाव हुन सक्ने सम्भावना रहेको भन्दै सामानहरु लुकाउने र बजारमा कृत्रिम अभाव फैलाउने, मुल्य महंगो पर्न थालेको भनेर बजारमा कालोधन्दाको संकेत गर्ने गिरोह पनि बजारमा सक्रिय भएको छ ।
संक्रमणबाट जोगिन उपयोगी मानिएको मास्कको अभाव समेत हुन थालेको छ । मास्क आयात विशेष गरी चीनबाट हुँदै आएकोमा चीनमा यसको उत्पादननै बन्द भएकाले पहिले प्रयोग हुँदै आएको मास्क बजारमा उपलब्ध हुन छोडेपनि सामान्य कपडाको प्रयोगबाट बन्न सक्ने मास्कको चरम अभाव हुने कारण देखाउँदै चर्को मुल्य बढाउनु पर्ने अवस्थानै आउँदैन ।
एकातिर गिरोहले कोरोना केन्द्रित प्रचार गरेर कालोबजारी गरिरहेको छ तर सरकार भने मास्क केन्द्रित प्रचारमा लागेको छ । मास्कको मुल्य धेरै लिएको पाइएमा हर्टलाइन नम्बरमा सम्पर्क गर्न सरकारले प्रचार गरिरहेको छ तर बजारमा मास्क भन्दा दैनिक आवश्यकीय बस्तुहरुको कृत्रिम अभाव गराउन क्रियाशील भएको गिरोहका बारेमा सरकार नाजानकार जस्तै देखिन्छ । त्यसकारण सरकारको ध्यान त्यतातिर पनि जानुपर्ने देखिन्छ ।
भारतसँग जोडिएको झापा जिल्ला १४४ किलोमिटर खुल्ला सीमा छ । अहिले भारतमा यसको संक्रमण देखिएको चर्चा बाहिर आइरहेको छ ।
यहिबेला कालोधन्दाको गिरोह नेपाल भारत आवतजावतमानै रोक लगाउनुपर्ने प्रचारमा खुब लागेको छ । भारतबाट कोरोना भाइरस भित्रिने जोखिम भएकाले स्वास्थ्य परीक्षण गरेर मात्रै आवतजावत गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा आवतजावतमै रोक लगाउनुपर्ने प्रचारलाई प्राथमिकता दिने गिरोह ठगी र कालोधन्दा मच्चाउने तत्वहरुको गिरोह हो ।
यस अघि भारतीय नाका बन्द हुँदा रातारात लाखौं करोडौं कुम्ल्याउने तत्वहरु यतिबेला पनि सक्रिय भएको छ यतातिर पनि राज्यले जिम्मेवारीसहितको निर्णय लिनु आवश्यक छ । अन्यथा राज्यनै कालोधन्दाको सहयोगी भएको ठहरिनेछ ।