दमक/ झापाको कमलमा सक्रिय ६ दलीय मोर्चाले कमल ५ पाडाजुँजी उत्तरमा बर्षौदेखि बसोबास गर्दै आएका सशस्त्र प्रहरीद्धारा पीडितहरुलाई आज राहत स्वरुप अत्यावश्यकीय खाद्य सामाग्री प्रदान गरेको छ ।
नेपाली कांग्रेस, समाजवादी पार्टी, राप्रपा, संघीय लोकतान्त्रिक लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र माओवादी क्रान्तिकारीको संयुक्त गठबन्धनले त्यहाँ सशस्त्र प्रहरीद्धारा घर भत्काएर विस्थापित बनाइएका ५९ परिवारलाई प्रति परिवार २५ केजी चामलसहित खानेतेल, सोयाबिन आदिको खाद्य सामाग्री सेट प्रदान गरेको हो ।

कांग्रेसका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गरेकी सांसद महेन्द्रकुमारी लिम्बु, प्रतिनिधि सभा सदस्यका प्रत्यासी खगेन्द्र पाण्डव अधिकारी, प्रदेश सभा सदस्यका प्रत्यासी राजन बहादुर ढुंगाना, पार्टी क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, जिल्ला सदस्य एवम् कमल गाउँपालिकाको अध्यक्षका प्रत्यासी हुकुमसिंह राई, नेविसंघ केन्द्रिय उपाध्यक्ष तुलसा पन्त, कांग्रेसका क्षेत्रीय सचिव धर्मानन्द भट्टराई, समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राई, प्रेम राई, राप्रपाका कमल गाउँ अध्यक्ष विष्णु प्रसाद पौडेल, लिम्बुवानका सूर्य योक्पाङदेन, राष्ट्रिय जनमुक्ति पार्टीका मनबहादुर मगर, माओवादी क्रान्तिकारीका भुपेन्द्र लावतीसहित ठुलो संख्यामा ६ दलीय गठबन्धनका नेता, कार्यकर्ताहरुले आज सशस्त्रद्धारा घर भत्काएर उठिबास लगाइएका ति परिवारलाई घट्नास्थलमानै पुगेर राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा ६ दलीय गठबन्धनको नेतृत्वले राज्यले संविधानत आफ्ना नागरिकहरुको न्यूनतम आधारभुत आवश्यकताहरुको बन्दोबस्ती गर्नुपर्नेमा उल्टै राज्यका निकायबाट बसोबासको बन्दोबस्ती नगरी अमानवीय ढंगबाट पीडितहरुको गाँस, बास खोस्नु निन्दनिय भएको भन्दै घटनाको निन्दा गरे । उनीहरुले राज्यले कुनैपनि मानेमा आफ्ना नागरिकहरुको मानव अधिकार हनन गर्न नहुने आफूहरुको स्पष्ट मान्यता रहेको पनि बताए । त्यस अवसरमा पीडितहरुले आफूहरुको घर भत्काउँदा चिसो रातमा कठ्याङिग्रएर रात काटनुपर्ने अवस्था रहेको भन्दै बसोबासको उचित व्यवस्था मिलाइदिन माग गरे । पीडितहरुका अनुसार ४/५ दिन यता सो ठाउँका बालबालिका र बृद्धबृद्धाहरु चिसोका कारण विरामी पर्न थालेको र दैनिकी कष्टकर हुँदै गएको छ । आज पनि सशस्त्र प्रहरीले त्यहाँ खानेपानीको ट्युबेल भत्काएर लगेको, लगाउने कपडा समेत फ्याँकिदिएको उनीहरुको गुनासो थियो ।
