दमक/ झापाको दमक बजार र यससंगै जोडिएका ग्रामिण बजारहरुमा पनि विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव देखिएको छ ।

अहिले सम्म नेपालमा कोरोनाका विरामी फेला नपरेपनि छिमेकी मुलुक भारतसहित विभिन्न देशमा यसको संक्रमण फैलिएपछि नेपालीहरुमा समेत त्रास बढेको छ । सरकारले अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन र भिडभाड नगरी घर घरमै बस्न नागरिकहरुलाई आव्हान गरेपछि सर्वसाधारणहरु यसको सम्भावित असरबारे चिन्तित देखिन्छन् ।
विदेशमा रहेका आफन्तहरुको अवस्था के कसो होला भन्ने पिरलोले नेपालीलाई सताएको देखिन्छ । सरकारको आव्हानपछि झापाको दमक बजारमा पनि आजदेखि यसको प्रभाव धेरै देखिएको छ । यहाँका धेरै जसो पसलहरु व्यवसायीले स्वतस्फूर्त बन्द गरेका छन भने सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् । आशिंक रुपमा फाट्टफुट्ट पसलहरु खुलेपनि मानिसहरुको चहलपहल देखिँदैन ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सम्भावित जोखिम न्यूनिकरण गर्न अत्यावश्यक सेवा भित्र पर्ने तथा दैनिक उपभोग्य सामानहरु बाहेकको व्यापार व्यवसाय व्यवसायीहरुले स्वतस्फूर्त रुपमा बन्द गरेको जानकारी दिनु भयो । संघले बजारमा उपलब्ध दैनिक उपभोग्य र अत्यावश्यकीय सामाग्रीहरुको कालोबजारी नगर्न सचेत गराएको पनि बताउनु भयो । सार्वजनिक सूचना मार्फत त्यस्तो सचेत गराउने काम भएको उहाँले जनाउनु भयो ।
बजार बन्द हुने भएपछि हिजोनै यहाँका सहकारी संस्थाहरुले व्यवसायीलाई आजदेखि आफ्ना बजार प्रतिनिधि तथा संकलकहरु नियमित संकलनमा नआउने जनाउ दिइसकेका छन् । यहाँँका सरकारी तथा प्राइभेट बैंकहरु आंशिक समय खुल्ने गरेका छन् । सामाजिक सुरक्षा भत्ता भने हालसालै बैंक खातामा जम्मा भएका कारण ज्येष्ठ नागरिकहरु भने भत्ता रकम लिन बैंकहरुमा लाइन लाग्ने गरेका छन् । बृद्धबृद्धाहरुलाई चुनावताका घर घरमै भत्ता ल्याइदिने बचन दिएको सरकारले भत्ता लिन बैंकमा धाउनुपर्ने र एकैचोटी धेरै सेवाग्राहीहरुको भिड लाग्नाले सास्ती भएको छ । बृद्धबृद्धाहरुले आफूहरुलाई भत्ता रकम घर घरमै नभएपनि टोल टोलमा पुरयाउने व्यवस्था सरकारले गर्नुपर्ने बताइरहेका छन् ।
दमक नगरपालिकाले पनि सार्वजनिक सूचना गरी अत्यावश्यक कामबाहेक अन्य प्रयोजनका लागि कार्यालयहरुमा नआउन सर्वसाधारणलाई सूचित गरेको छ । नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत दिनेश न्यौपानेले हस्ताक्षर गरी हिजो जारी गरेको सूचनामा त्यस्तो उल्लेख छ । स्कूल तथा कलेजहरु भने देशैभर चैत्र ५ गतेदेखिनै बन्द छन् ।




