कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान शहरमा दर्जनौं साना व्यवसायीहरूले भाडा घटाउन आन्दोलन गरिरहेका छन् । ७० दिनभन्दा लामो लक-डाउन खुलेपछि स्थानीय साना व्यापारीहरू आन्दोलनमा उत्रेका हुन् ।

शुक्रवार मास्क लगाएर १-१ मिटरको दूरीमा बसेका व्यापारीहरूले भाडा कम गर्नुपर्ने माग राख्दै प्लेकार्ड बोकेका थिए । प्ले कार्डमा ‘हाम्रो स्टोरको भाडा मिनाहा गर’, ‘हामी बाँच्न सक्दैनौं’ जस्ता नाराहरू लेखिएका थिए ।

चीनको द ग्राण्ड ओसन डिपार्टमेन्ट स्टोर नामको मलमा भएका साना साना स्टोरका व्यापारीहरूले यस्तो प्रदर्शन गरेका हुन् । चाइनिज सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा एक महिलाले भनेकी छिन्, ‘सपिङ मलको इन्चार्जले हाम्रो स्टोरको भाडा घटाउनु पर्छ ।’

९९ प्रतिशत साना व्यापारीहरूले वुहान लक-डाउन भएयता कुनै व्यापार गर्न पाएका थिएनन् । प्रदर्शन गर्दै अर्का व्यापारीले सरकारले बिहिवार गरेको प्रदर्शन चुपचाप हेरिरहेको बताए । ‘त्यही भएर हामी आज पनि यहाँ जम्मा भएका छौं,’ उनले भने ।

Facebook Comments Box