दमक/ नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले केहीबेर अघि सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमतिको संखया ३ सय २३ थपिएको छ । थपिएकामा २ सय ८६ पुरुष ३७ महिला छन् । त्यसैगरी पछिल्लो समय मृत्यु भएका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ । धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिला र डोल्पामा उपचाररत ५८ बर्षिया एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भएको छ । यससंगै नेपालमा कोरोना संक्रमित १३ जनाको मृत्यु भएको हो ।
नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन् । प्रदेश नम्बर एकमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण र मृत्यु हुने क्रम समेत बढेको भन्दै विशेष सावधानी अपनाउन नागरिकहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले सुत्केरी र दीर्घरोगीहरुलाई कोरोनाको संक्रमणबाट जोगाउन विशेष सावधानी अपनाउनुपर्ने सुझाएका छन् । सुत्केरी र दम, मिर्गौला फेल, रक्तचाप लगायतका समस्या भएका विरामीहरुलाई कोरोनाको संक्रमणको सम्भावना धेरै हुने भएकाले त्यस्ता किसिमका नागरिकहरुको स्वास्थ्य हेरचाहमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभएको हो ।