गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकाको पश्चीम सीमा मोरङको रतुवामाई नगरपालिकालाई जोड्ने रतुवा खोलाको पूल नजिकै जैविक तटबन्धन ( बाँस ) गरेको छ । पुलको पुर्वपट्टी बाटोको उत्तरपट्टी तटबन्ध निर्माण गरेको हो ।
गाउँपालिकाले गौरीगंज गाउँपालिका वार्ड नं. ५ वालुगाउँमा रहेको प्रगतिशिल युवा क्लबले बाँसको तटबन्ध निर्माण गर्ने कार्य जिम्मा लिएको बताइएको छ ।
पुर्व पश्चिम बाटोको उत्तरपट्टी छेउ – छेउ करिब २ सय ५० मिटर बाँसको तटबन्ध र बाटोमा माटो र गिट्टी ओछ्याउने काम ६ लाख ५० हजार रूपैयाँमा जिम्मा लिएको क्लबका अध्यक्ष अर्जुन कार्कीले बताउनु भयो ।
दैनिक २५ जना भन्दा बढी युवाहरू तटबन्ध निर्माण कार्यमा खटिरहेकोले केही दिनमा सो काम सम्पन्न गरिने जनाइएको छ । खोलाको कटानबाट पुल पुर्वपट्टिको भागलाई बचाउँदै वर्षातमा पनि पुलमाथिबाट आवतजावत गर्न सहज बनाउने उद्धेश्य रहेको गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनु भयो ।
पुल अधुरो भएकोले वर्षायाममा नागरिकहरू आवतजावतमा कठिनाई झेल्दै आएको हुनाले यस वर्षको वर्षातमा पुल माथिबाट नागरिकहरू आवतजावत गर्न सकिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । ‘ अध्यक्ष श्रेष्ठ भन्छन् – ‘यसपालिको बर्षामा खोलाको कटानबाट बाटोलाई टिकाउन सके ठुलो उपलब्धि हुने थियो ।’ उनका अनुसार पुल मुनि छेउमा करिब १० मिटर ढुंगा जाली ओछ्याएर बाटोलाई बलियो पार्ने योजना छ ।
पुल निर्माण ५ वर्षअघि भएपनि पुलमाथिबाट आउजाउ हुन सकेको थिएन । पुल खोला बीचमा ठिङरिङ्ग थियो । तर गौरीगंज गाउँपालिकाकाले पुलको पुर्व तर्फ र रतुवामाई नगरपालिकाले पश्चिम तर्फबाट पुलको उचाई बराबरको बाटो खनी नागरिकलाई आवतजावतमा सजिलो बनाए पछि यहाँका स्थानीय मात्र होइन आवतजावत गर्ने जो कोही पनि खुशी व्यक्त गरेका छन् ।
आयोजनाले रतुवा खोलामा २ सय ५ मिटर लम्बाइको पुल निर्माण गरेको छ । तर खोला पुलमुनिबाट नभई पुल पूर्वपट्टिबाट बगिरहेको थियो ।
आयोजनाले उक्त पुल आव २०६४÷०६५ मा काठमाडौंको कालिका ओएसिस जेभीलाई ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर पुल ९ करोडमा निर्माण गरेको निर्माण कम्पनीले जनाएको छ । पुलको लम्बाइ भन्दा खोलाको चौडाइ ठूलो भएकाले निर्माण कम्पनीले एप्रोच रोड र च्यानेलाइजको काम गरेको छैन ।
निर्माण सम्पन्न भइसक्दा पनि पुल सञ्चालनमा ल्याउन नसक्दा सडक विभागले आयोजनालाई आवश्यक अध्ययन गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । तर आयोजनाको कार्यालय प्रमुख कैलाश साहले विभागको निर्देशनअनुसार काम नगर्दा पुल बेकाम्मे बनेको हो ।
पुल हुलाकी राजमार्गअन्तर्गत पर्दछ । झापा र मोरङका दक्षिणी भेगका बासिन्दाका लागि उक्त पुल अत्यन्त आवश्यक छ । पुल नहुँदा झापाका साविक गौरीगन्ज, खजुरगाछी, कोहबरा, कोरोबारी तथा मोरङका साविकका सिजुवा, इटहरा, झुर्किया, महादेवालगायतका गाविसका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।