दमक/ प्रदेश एक अन्तर्गत झापा उदयपुर र सुनसरीमा निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ ।
विरिङ खोलामा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको हो भने मेची नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । झापा गाउँपालिका– ५ का ३५ वर्षीय राजेश गणेशलाई विरिङ खोलाले बगाएर मृत्यु भएको हो ।
उता मेची नदीले बगाएर भद्रपुर– ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । त्यसैगरी
त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ ।
यस्तै सुनसरीको धरान उपमहानगरपालिकामा पर्ने सर्दुखोला तर्ने क्रममा धरान १३ बस्ने अन्दाजी ६० वर्षका रामबहादुर बस्नेतको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान बस्नेतको शव धरान ११ मंगलवारे नजिकैको खोलामा फेला परेको प्रहरीले जनाएको छ ।