दमक/ झापाका दुई नगरपालिकामा आज थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शिवसताक्षीमा एक जना स्वास्थ्यकर्मीसहित दुई जना दुवई र कुवेतबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार उनीहरु सबै ३० देखि ४० बर्ष उमेर समुहका हुन । संक्रमित मध्ये एक महिला र दुई पुरुष हुन । त्यसैगरी कन्काई नगरपालिकामा आज एक जना पुरुषमा संक्रमण देखिएको छ । वडा नं २ का ८० बर्षिय बृद्धमा कोरोना संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
शिवसताक्षीमा स्थायी व्यापार सूचारु, साप्ताहिक हाट बन्द
यसैबीच झापाको शिवसताक्षीमा स्थायी रुपमा सञ्चालन हुँदै आएको व्यवसाय आजदेखि पूर्ण रुपमा चल्ने भएका छन भने साप्ताहिक हाट बजार भने अझै बन्द राख्ने निर्णय भएको छ । शुक्रबार बसेको नगरपालिकाको बोर्ड बैठकले नगरका साप्ताहिक बजार अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्दनै राख्ने तर स्थायी व्यवसाय भने खुल्ला गर्ने निर्णय गरेको हो ।
यो निर्णयसंगै यस अघि बन्द राख्नुपर्ने सूचीमा परेका सैलुन, ब्युटी पार्लर र होटल पनि सूचारु हुनेछन । नगरका प्रवक्ता नवीन ईजमले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर सामाजिक दुरी कायम राखेर व्यापार व्यवसाय सञ्चालन गर्न पाउने निर्णय भएको जानकारी दिए ।
शिवसताक्षीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पूर्ण पालना गर्दे विद्यार्थी भर्ना पनि खुल्ला गर्ने निर्णय भएको छ । त्यस्तै राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने काम पनि सूचारु गर्ने निर्णय भएको छ । बोर्ड बैठकले असोज मसान्तसम्म अतिरिक्त शुल्क नलिई कृषि समूह गठन गर्ने र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पालिकाको बोर्ड बैठकले असोज २, ३ र ४ गते नगरपालिका, वडा कार्यपालिका र नगरका चोक बजारमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।
शिवसताक्षीका केही भागमा हात्तीको उपर्दो बढेसँगै नगरपालिकाले हात्ती धपाउने साइरन र टर्चलाइट खरिद गरेर सरोकारका निकायलाई प्रदान गर्ने निर्णय भएको छ ।