दमक/ नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । आज थप १ हजार ५५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसंगै देशभर कुल संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घन्टामा २३४० जना डिस्चार्ज भएका छन् ।
विराटनगर र धरानमा एक/ एक संक्रमितको मृत्यु
विराटनगरमा एक कोरोना संक्रमितको घरमै मृत्यु भएको छ । घरमै मृत्यु भएका विराटनगर महानगरपालिका–११ पिचराका ८८ वर्षीय बृद्धमा कोरोना देखिएको हो । सोमबार राति ११ बजे आफ्नै घरमा मृत्यु भएको बृद्धको मृत्यु भएको १५ घण्टापछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सोमबार बृद्धको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय वृद्धको बिहान ४ः२० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
मृतकमा मधुमेह र मुटु सम्बन्धी समस्या थियो । ज्वरोलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई असोज १२ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।

Facebook Comments