दमक/मोरङमा तीनसहित देशभर आज ( पछिल्लो २४ घण्टामा) १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका ५ र ७ मा आज एकैदिन एक ÷ एक जनाको मृत्यु भएको हो । वडा नं ५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको मृत्यु भएको हो । गत शनिबार कोरोना पुष्टि भएपछि उनलाई आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । त्यस्तै बुढिगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत पुरुषको मंगलबार विहान ११ः२० बजे मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि उनलाई असोज २१ गते विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनमा मिर्गौलासम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।
यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका कोरोना भाइरस संक्रमित ४३ वर्षीय पुरुषको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ । उनको बिहान ८ः१० बजेतिर मृत्यु भएको हो । विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जना पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना पृष्टि भएको छ । मंगलबार देशभरिबाट १ हजार ५ सय ३ जना कोरोना मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments