दमक/ होली पर्वको दिन आज ( सोमबार) प्रदेश नम्बर एकका विभिन्न ठाउँमा फरक फरक प्रकृतिका अपराधका घटना भएका छन । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ईटहरी २ का ५५ बर्षीय जिवन रेग्मीले सोही ठाउँका ५० बर्षीय केशब कार्कीलाई फलामको खन्तीले भुँडीमा हानेर हत्या गरेका छन् । आज दिउँसो साढे १ बजे रेग्मीले पुरानो रिसइवीलाई लिएर कार्कीलाई फलामको खन्तीले भुँडीमा हानेर हत्या गरेका हुन । घटनामा गम्भिर घाईते बनाएर रेग्मी फरार भएका थिए । घाईते कार्कीको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको थियो । फरार रहेका रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
त्यसैगरी दुहबी नगरपालिका –१० स्थित नहरचौकमा भएको मोटरसाईकल दुर्घटनामा गढि गाउँपालिका २ सखुवारे कलरुवाका ३२ बर्षीय संजय चौधरीको मृत्यु भएको छ । आज दिउँसो पौने २ बजे को९प ७००० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको को४प ६११२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए । उनको बिराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी सुनसरी बर्जु–६ का ११ बर्षीया अञ्जली मेहताको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ६ बजे छिमेकीको घरमा पानी भर्ने क्रममा पानी तान्ने मोटरमा बिद्युत सर्ट भएर करेन्ट लाग्दा अञ्जलीको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
त्यसैगरी ताप्लेजुङ मिक्वाखोला–१, सिम्लेका २८ बर्षीय मन कुमार तामाङको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही ठाउँमा रहेको कात्तिके सामुदायिक जंगलमा दाउरा काट्न चिलाउनेको रूख काटेर ढाल्ने क्रममा रूखको हाँगा काटने क्रममा रूखले किचेर घाईते भएका तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

Facebook Comments Box