विराटनगर/महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच उनीहरुको उच्च मूल्याङ्कन गर्दै नगदसहित सम्मान गरिएको हो ।
मोरङ क्याम्पसको स्थापना विक्रम सम्वत् २०१२ साल साउन १६ गते भएको थियो । पछि राजा महेन्द्रले नवनिर्मित भवन उद्घाटन गरेपछि क्याम्पसको नाममा महेन्द्र थपिएको थियो । सम्मानित हुनेहरुमा प्राध्यापकतर्फ डा. घनश्याम श्रीवास्तव, रामनारायण दास र माधवप्रसाद रेग्मी छन् । यसैगरी, कर्मचारीतर्फ सोनु निरौला र जलधर कामतलाई सम्मान गरिएको छ ।

सम्मानित प्राध्यापक र कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् अर्थशास्त्री डा भेषप्रसाद धमला, क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिना लगायतले सम्मान गरेका थिए । महेन्द्र मोरङ क्याम्पसले डा. तिमल्सिना क्याम्पस प्रमुख भएपछि २०७५ सालदेखि वार्षिकोत्सव मनाउन सुरु गरेको र २०७६ सालदेखि उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मानित गर्न सुरु गरेको थियो ।
समारोहमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले मोरङ क्याम्पसमा आफू सहायक प्रमुख भएर काम गर्दा चौतर्फी हित हुने काम गर्न कुनै काम गर्न नछुटाएको भन्ने लागिरहेकोमा वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम गर्न भने छुटेको बताए । उनले महेन्द्र मोरङले शिक्षक र कर्मचारी सम्मान गर्ने कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
पूर्व क्याम्पस प्रमुख सरोज चौधरीले उत्कृष्ट प्राध्यापक एवम् कर्मचारीका रुपमा पुरस्कृत एवम् सम्मानित सबैको बारेमा कुनै टीकाटीप्पणी गर्ने ठाउ“ नभएको बताउ“दै छनोट समितिले यस किसिमको कार्यलाई प्रशंसा गरेका थिए । स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्रीले अन्य क्याम्पसले पनि वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम गर्ने महेन्द्र मोरङले सुरुवात गरेको कार्यलाई अनुशरण गर्नु पर्नेमा जोड दिए ।
क्याम्पस प्रमुख डा तिमल्सिनाले महेन्द्र मोरङमा हाल मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र गरी चार संकायमा २६ वटा कार्यक्रम रहेको र स्नातकोत्तर कार्यक्रम मात्रै ६ वटा रहेको बताए । रसायनशास्त्र र प्राणीविज्ञानमा दुई दर्जन बढीले विद्यावारिधि गरिरहेको बताए ।
सम्मानित प्राध्यापक डा घनश्याम श्रीवास्तवले यसरी सम्मानित हुनुले उत्प्रेरणा मिल्ने बताए । सो अवसरमा पूर्व निमित्त क्याम्पस प्रमुख प्रा महेन्द्र नारायण यादव, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय उपाध्यक्ष शैलेन्द्र शिवाकोटी, पुरस्कृत प्राध्यापक माधवप्रसाद रेग्मी, नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस एकाईका सभापति तुलसी निरौला, नेपाल राष्ट्रिय प्राध्यापक संगठन एकाई सभापति जयनारायण यादव, पुरस्कार छनोट समितिका संयोजक डा रामावतार शरण, सहायक क्याम्पस प्रमुखद्वय विष्णुदेव दास र डिल्ली पोखरेल, कर्मचारी दिपेन्द्र मण्डल लगायतले मन्तव्य राख्दै क्याम्पसले सुरु गरेको वार्षिकोत्सव र उत्कृष्ट कर्मचारी छनोट प्रशंसनीय रहेको बताए ।