चुलाचुली/  इलामको चुलाचुली गाउँपालिकाका नागरिकले भुमि सम्बन्धी कामका लागि झापा हुँदै आफ्नै जिल्लाको सदरमुकामसँग धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अब नापी तथा मालपोतसम्बन्धी सेवा चुलाचुलीबाटै प्रवाह हुने भएपछि सामान्य सेवा लिनसमेत इलाम सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।
स्थानीय नागरिकको लामो समयदेखिको माग, गाउँपालिकाको निरन्तर पहल, जनप्रतिनिधिहरुको सक्रियता, कर्मचारीहरुको समन्वय तथा केन्द्र सरकारको सकारात्मक निर्णयपछि चुलाचुलीले ऐतिहासिक सफलता हासिल गरेको अध्यक्ष केरुङको भनाई छ ।
देशभरका ७५३ स्थानीय तह मध्ये पहिलो चरणमा २१४ पालिकाले मात्र अनुमति प्राप्त गरेको अवस्थामा चुलाचुली गाउँपालिका पनि उक्त सूचीमा पर्न सफल भएको हो ।
यसलाई चुलाचुलीका जनप्रतिनिधिहरुको ऐतिहासिक पहल र नागरिकको सामूहिक भावनाको उच्च कदर गरिएको क्षणका रुपमा लिइएको छ ।
स्थानीयवासीका अनुसार नापी र मालपोत सेवा गाउँपालिकाबाटै सञ्चालन भएपछि समय, खर्च र झन्झटको ठूलो बचत हुनेछ ।
चुलाचुली गाउँपालिकाले यो उपलब्धिलाई स्थानीय सरकारको प्रभावकारी कामको उदाहरणका रुपमा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य बताउँछन् ।
गाउँपालिकाले नागरिकलाई सहज, सरल र नजिकबाट सेवा दिने उद्देश्यअनुसार आगामी दिनमा थप सेवा विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ ।

Facebook Comments Box