दमक/देशभर परिक्षण गरिएका मध्ये २६ प्रतिशतमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर चार हजार एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ११ हजार तीन सय ५४ जनाको पीसीआर र चार हजार नौ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार दुई सय ९८ नमुना परीक्षण गर्दा चार हजार एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण दर निकै माथि भएकाले सचेतता अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । नेपालमा कोरोनाका संक्रमितको संख्या सात लाख ६९ हजार नौ सय २२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६ सय ५१ पुगेको छ ।
यही अवधिमा थप ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार नौ सय ५७ पुगेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार चार सय ६४ रहेको छ ।