दमक/कोरोना संक्रमणको दर कहिले बढने र कहिले घटने क्रम जारी छ । दमकमा साता अघिको तथ्याङक हेर्दा कोरोना परिक्षण गरिएका मध्ये कूल २६ प्रतिशतमा संक्रमण थियो । एकताका ४२ प्रतिशतमा कोरोना देखिएको नगर हो दमक ।
रोकथामका अनेकन उपायहरु मध्ये लकडाउनको पालना र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नै निर्विकल्प थियो तर लकडाउन सधैंका लागि सम्भव थिएन र होइन पनि । सामान्यतया स्वास्थ्य सुरक्षाका मापदण्ड भित्र भौतिक दुरी कायम राख्ने , साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग पर्छन । कोरोना संक्रमण फैलिएसंगै यहाँका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले चिकित्सकद्धारा सिफारिस गरिएका वा इच्छुक जो कोहीको कोरोना परिक्षणका लागि पीसिआर र एन्टिजेन दुवै माध्यम अपनाउँदै आएका छन ।
कोरोना परिक्षणका लागि आवश्यक पर्ने किटको मुल्यमा दोब्बर भन्दा बढी रकम असुलेर कोरोना परिक्षण गर्ने गरेका छन । यहाँका निजी अस्पतालहरुमा गएका बिरामीलाई कोरोनाको शंका लागेमा वा अन्य कुनैपनि कारणबाट शल्यक्रिया गर्नुपरेमा अस्पतालहरुले अनिवार्य कोरोना परिक्षण गर्न लगाउने र एन्टिजेन परिक्षणमा १ हजार ३ सयदेखि १ हजार ६ सय सम्म र पीसिआर परिक्षणमा २ हजार सम्म असुल्ने गरेका छन । अस्पताल तथा कतिपय क्लिनिकहरुले परिक्षणमा प्रयोग गर्ने किट राष्ट्रिय प्रयोगशालाबाट प्रमाणित भए नभएको बारे सर्वसाधारण अनभिज्ञ छन । अहिले सम्म स्वास्थ्य निकाय वा सरकारबाट त्यस्ता अस्पताल र स्वास्थ्य संस्थाको अनुगमन समेत नभएको समाचार स्रोतले जनाएको छ ।
कोरोना भए नभएको आधारमा कतिपय अस्पतालले आफैं उपचार शुरु गर्छन भने कतिपयले कोरोना उपचारका लागि अन्यत्र पठाउने गरेका छन । दमकमा सञ्चालित अधिकांश निजी अस्पतालहरुमा यहाँका व्यवसायी तथा राजनीतिक नेता हरुको प्रत्यक्ष अप्रत्यक्ष रुपमा लगानी छ । निजी अस्पतालहरुले कोरोना संक्रमण फैलिदा एकताका अस्पतालको गेटनै बन्द गरेर बसेका थिए । दमकको आम्दा अस्पतालले भने न्यून शुल्कमा कोरोना परिक्षण गर्दै आएको छ । सो अस्पतालले रु ८०० मा एन्टिजेन परिक्षण गर्दै आएको हो ।
स्थानीय तहले रोके परिक्षण
स्थानीय तहहरुले चालू आर्थिक बर्षको बजेट तथा कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिएको बताएपनि अहिले दमकसहित अधिकांश स्थानीय तहहरुले सर्वसाधारणको कोरोना परिक्षण स्थगित गरेका छन । निजी अस्पताल तथा स्वास्थ्य संस्थाले धमाधम किट खरिद गरेर कोरोना परिक्षण गर्न थालेपछि स्थानीय सरकारले परिक्षण नै बन्द गरेका हुन ।