दमक/दमक ८ स्थित कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाको आसन्न २१ औं बार्षिक साधारण सभामा पेश गरिने बार्षिक प्रतिवेदन आज ( बुधबार) सार्वजनिक गरिएको छ । संस्थाको सभाकक्षमा आज आयोजित कार्यक्रमका बीच संस्थाका अध्यक्ष मणिकुमार भण्डारी, उपाध्यक्ष भरत चौलागाइँ, पूर्व अध्यक्षद्धय होमबहादुर थापा, लेखा संयोजक गंगाप्रसाद संग्रौला, सल्लाहकार संयोजक हेमनाथ अधिकारी लगायतले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गरेका हुन । प्रतिवेदन सार्वजनिकपछि बोल्दै संस्थाका अध्यक्ष भण्डारीले सो संस्थाले सदस्यहरुलाई अधिकतम फाइदा पुग्ने किसिमका कार्यक्रमहरु ल्याएको जानकारी दिए ।


उनले संस्थाका सम्पूर्ण सदस्यहरुलाई आफनो कारोबार संस्था केन्द्रित गरेर अधिकतम लाभ लिन आग्रह गरे । उनले यसबर्षदेखि संस्थाले सदस्यहरु बिरामी भई कुनैपनि किसिमको शल्यक्रिया गर्नुपर्ने भएमा ५ हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम थपिएको बताए । त्यसैगरी विभिन्न किसिमका आकस्मिक दुर्घटना वा प्राकृतिक विपत्तीमा परेका सदस्यहरुका लागि समेत नगद सहयोग गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिइएको अध्यक्ष भण्डारीले उल्लेख गरे । सो अवसरमा संस्थाका सदस्यहरुले अन्य संस्थामा गर्ने गरेको कारोबार पूर्ण रुपमा बन्द गरेर आएमा एक हजार रुपैयाँ नगद दिने कार्यक्रम समेत ल्याइएको बताए ।

त्यस्तै कोरोना संक्रमण भई उपचारका लागि अस्पताल भर्ना भएमा सदस्यहरुलाई ३ हजार रुपैयाँका दरले नगद सहायता गर्ने, सुत्केरी, शिशु र बिबाह गरेर आउने बुहारीलले समेत प्रोत्साहत स्वरुप विभिन्न किसिमका बचत कार्यक्रमहरु मार्फत लाभ लिन सक्ने कार्यक्रमहरु ल्याइएको भण्डारीले बताए । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष होमबहादुर थापाले संस्थाको नाफालाई भन्दा संस्थाका सदस्यहरुको सेवालाई प्राथमिकता हुनुपर्ने सुझाव राखे । संस्थाका उपाध्यक्ष भरतकुमार चौलागाइँले संस्थाले सदस्यहरुको अधिकतम सेवाका लागि आकर्षक कार्यक्रमहरु ल्याइएको बताउँदै सदस्यहरुले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव तथा टिप्पणीहरु २५ भाद्र सम्ममा संस्थामा उपलब्ध गराउन आग्रह गरे । संस्थाको मुख्य कार्यालय दमक, सेवा केन्द्रहरु उर्लाबारी, डुँडामारी र गौरादहबाट समेत सदस्यहरुलाई २१ भाद्र सम्म प्रतिवेदन वितरण गरिने संस्थाका व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए । सो संस्थाको बार्षिक साधारण सभा भने आउँदो २९ भदौमा सम्पन्न गर्ने तालिका छ ।
३३ लाख कर बुझायो
यसैबीच सो संस्थाले गत आर्थिक बर्ष २०७७/०७८ मा गरेको कारोबारका आधारमा नेपाल सरकारलाई विभिन्न शिर्षकमा कूल ३३ लाख भन्दा बढी कर बुझाएको संस्थाका व्यवस्थापक निरौलाले जानकारी गराए । संस्थाले कमाएको खुद नाफा, कर्मचारीहरुको पारिश्रमित, लाभांश आदि शिर्षकमा सो बराबरको कर बुझाइएको उनले जनाएका छन ।

 

Facebook Comments Box