दमक/  नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी )ले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापालाई आफनो संगठन विस्तारको प्राथमिकतामा राखेर गतिबिधि बढाएको छ ।

सो पार्टीका जिल्ला नेताहरुले झापाका सबै पालिकाहरुमा पार्टी तथा युवा संगठनको कमिटी गठन, पार्टी कार्यालय स्थापना , नेता कार्यकर्ताहरुबीचको अन्तर संवादलाई बढाएका छन । सो क्रममा नेकपा (एकीकृत समाजवादी)ले दमकमा तीन दिन अघि पार्टी कार्यालय स्थापना र पार्टीको नगर कमिटी घोषणा एकसाथ गरेको थियो । सो पार्टीले दमकको केन्द्रविन्दु मानिने देवकोटा चोकस्थित सिद्धी मार्केट परिसर भित्र पार्टी सम्बद्ध टिका प्रसाइँले निशुल्क प्रदान गरेको स्थललाई पार्टी कार्यालयका रुपमा प्रयोग गरिने जनाएको छ । पार्टीका नगर कमिटी अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा घोषित नगर कमिटी झापाका पालिकाहरुमा सो पार्टीको पहिलो नगर कमिटी भएको जिल्ला अध्यक्ष वेदराज रेग्मीले जानकारी दिए । सो कार्यालयमा आज मंगलबार पार्टीका प्रदेश सचिव राजेन्द्र किराँतीको उपस्थितीमा भेटघाट तथा समसामयिक बिषय केन्द्रित छलफल पनि भएको छ । त्यसैगरी आज मंगलबारनै नेकपा (एस)ले शिवसताक्षी नगर कमिटी र सम्बद्ध युवा संघको नगर कमिटी घोषणा गरेको छ ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष समेत रहेका नविन इजमको अध्यक्षता मा ७५ सदस्यीय नगर कमिटी गठन भएको हो ।
पार्टीका केन्द्रीय सचिव एवम् १ नं प्रदेशका संसदिय दलका नेता राजेन्द्र राईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीले नगर कमिटीको घोषणा गरेका थिए ।
तुलसीराम भट्टराईले अध्यक्षता गरेको सभामा स्वागत सोमनाथ गुरागाँई र सञ्चालन प्रेम राईले गरेका थिए ।
सोही सभाले १०५ सदस्यीय युवा सँघ नेपाल पनि गठन गरेको छ । सयौंको संख्यामा भेला भएका कार्यकर्ताहरुले कम्युनिष्ट आन्दोलनको उर्वरभुमी झापाको इतिहासलाई सम्मान गर्न आवश्यक रहेको बताएका थिए ।

Facebook Comments Box