दमक/ प्रदेश एकका तीन जिल्लामा भएका अलग अलग दुर्घटनामा ९ महिनाको एक बालकसहित तीन जनाको मृत्यु भएको छ । हिजो शनिबार साँझ सवा ६ बजे तेह्रथुमको लालिगुराँस ४ बसन्तपुरको फुलेक भित्रि कच्ची सडकमा गुडिरहेको ट्रयाक्टर अनियन्त्रि भई दुर्घटना हुँदा लालीगुँरास ५ का अन्दाजी २२ बर्षिय पञ्चबहादुर मंग्रान्तीको मृत्यु भएको हो ।
उनी को २ त ८४३६ नम्बरको ट्रयाक्टरका चालक हुन । ट्रयाक्टरमा सवार खेम सार्की र म्याङलुङ ७ का १७ बर्षिय दावा शेर्पा गम्भिर घाइते भएका छन । साँघुरो सडकका कारण सो दुर्घटना भएको बताइएको छ । त्यसैगरी सुनसरीको दुहबी –८ सोनापुरको कोशी लोकमार्गमा ईटहरीबाट बिराटनगर तर्फ जादै गरेको ना ५ ख ४५१३ नम्बरको बसको ठक्करबाट बाटो क्रस गर्दै गरेका पैदलयात्री बेलबारीका ७२ बर्षिय पबनलाल चौधरीको मृत्यु भएको छ । उपचारका लागि बिराट टिचिङ अस्पताल पठाइएकोमा रातीनै उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी बिराटनगर १४ भगवती टोलमा रोकि राखेको सिटी सफारीमा बालबालिकाले खेल्ने क्रममा ९ महिनाका सुनिल महतोको ज्यान गएको छ । स्थानीय अमर महतोका अढाई बर्षिय छोरा अनिल महतोले घरको बाटोमा पार्कीङ गरेर राखेको को १ ह ४३५० नं. को सिटी सफारीमा खेल्ने क्रममा सो घटना भएको बताइएको छ ।