दमक/नेपाली कांग्रेसको दमक ५ नम्बर वडा समितिले तिहारको अवसर पारेर आज ( मंगलबार) सांस्कृतिक देउसी भैलो कार्यक्रम सञ्चालन गरेको छ । तिहारको अवसरमा खेलिने देउसी र भैलो खेललाई संरक्षण सम्बद्र्धन गर्दै सामूहिक रुपमा देउसीभैली कार्यक्रम गरिएको पार्टीका वडा सभापति चैतन्य बरालले जानकारी दिए ।
दमकस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा झापा क्षेत्र नम्बर ५ का कांग्रेस नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा देउसी भैलो खेलेका थिए । सो अवसरमा सहभागीहरुलाई तिहार विशेष मिष्ठान्न परिकारहरुको व्यवस्था गरिएको थियो । कार्यक्रममा कांग्रेस नगर सभापति प्रकाश प्रसाईंले यस्ता सांस्कृतिक कार्यक्रमले पार्टीका नेता कार्यकर्ताहरु वीचमा आपसी सद्भाव बढाउन मद्धत पुग्ने विचार व्यक्त गरे । कार्यक्रममा पार्टीको आसन्न १४ औं महाधिवेशनमा बिभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका नेताहरुले क्षेत्रीय प्रतिनिधिहरु समक्ष मत समेत मागेका थिए । आजै नेपाली कांग्रेस वडा नम्बर २ ले समेत तिहारको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको कांग्रेस वडा सभापति भागवत दुलालले जानकारी दिए ।


