दमक/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो । जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७५८० रहेको छ । त्यस्तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ५११३७ रहेको छ ।
त्यस्तै जीपीए २.८० देखि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या ६३७४१ रहेको छ । जीपीए २.४० देखि २.८० ल्याउने परीक्षार्थी ७६५६४ रहेका छन् । त्यस्तै २.०देखि २.४० ल्याउने परीक्षार्थी ९८२०७ रहेका छन् ।
त्यस्तै जीपीए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी ९५३०७ रहेका छन् । त्यस्तै जीपीए १.२० देखि १.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ४३८४१ रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो ।
परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।
संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।
तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
प्रदेश १ बाट ८३ हजार ६ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, प्रदेश ३ बाट १ लाख हजार २, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट ३५ हजार ६ सय ३४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सामेल थिए ।