दमक/ दमकमा गठन भएको पौडेल युवा मञ्च दमक नगर समितिले पौडेल सिग्देल बन्धुहरुबीच आपसी मेलमिलाप, एकता र भातृत्वको भावना बिकास गराउने उद्धेश्यले बृहत बन्धु मिलन तथा पारिवारिक वनभोज गर्ने भएको छ ।
युवा मञ्चका नगर अध्यक्ष थरेन पौडेलले युवा बन्धुहरुको संगठनको आवश्यकता र महत्वका बारेमा छलफल गर्दै आगामी रणनीतिहरु तय गर्ने, आपसमा बन्धुत्वको भावना बिकास गराउने र बन्धु एकतामा जोड दिने उद्धेश्यले पहिलो पटक यही २४ पुषमा यस किसिमको कार्यक्रमको गर्ने तय भएको जानकारी दिए । मञ्चका कार्य समिति तथा सल्लाहकारहरु समेतको संयुक्त बैठकले सो कार्यक्रम दमक चोकबाट करिब ७ किलोमिटर उत्तरमा पर्ने नयाँ पर्यटकीय गन्तव्य इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरिने र सो कार्यक्रममा पौडेल तथा सिग्देल ( महिला/ पुरुष) को सहभागितालाई खुल्ला राख्ने निर्णय गरेको जनाइएको छ ।
सो कार्यक्रम सम्पन्न गर्न दिपेश पौडेलको संयोजकत्वमा प्रनिता पौडेल सहसंयोजक र पौडेल युवा मञ्चको सिंगो कार्य समिति सदस्य रहने गरे एक व्यवस्थापन समिति समेत गठन गरिएको छ । युवा मञ्चले दमक तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण पौडेल सिग्देल बन्धुहरुलाई सो ऐतिहासिक कार्यक्रममा सहभागी भइदिन अपिल पनि गरेको छ । संयोजक दिपेश पौडेलले भने– यो हामी बन्धुहरुबीचको एकताको सन्देश दिने कार्यक्रम पनि हो यसका माध्यमबाट हामी समाजलाई सानो तिनो भएपनि योगदान दिन सक्नेछौं ।