दिपक खड्का
दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा निर्माण भएको प्रदेशस्तरीय आयुर्वेदीक औषधालय तथा अस्पतालको अवलोकन तथा निरीक्षण गर्नु भएको छ ।
उहाँले आईतबार क्षेत्र नं. ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं. ७ मा निर्माण भएको औषधालयको अवलोकन निरिक्षण गरि चाँडै सञ्चालनमा ल्याउन पहल गर्ने पनि बताउनुभयो । स्थानीयबासीले निशुल्क उपलव्ध गराएको जमिनमा प्रदेशस्तरीय आयुर्वेदिक औषधालय तथा अस्पताल बनेको हो ।
यसैगरी जमिन हुनेहरुले उपलव्ध गराएमा आवश्यक पूर्वाधार निर्माणले तिव्रता पाउने समेत उहाँको भनाई थियो । यस्तै आयुर्वेदीक चिकित्सा प्रणाली संसारकै पुरानो चिकित्सा प्रणाली भएको भन्दै पूर्वप्रधानमन्त्री ओलीले यस्ता प्रणाली र विज्ञानको प्रवद्र्धन जरुरी रहेको पनि बताउनुभयो ।
अस्पतालको अवलोकन निरीक्षण पछि ओलीले सके सम्म जग्गा दान गर्नु आग्रह गर्दै नागरिकले दिएको जग्गामा सरकारले संरचना बनाउने र विकासले तिव्रता पाउने पनि बताउनुभयो । तर संरचना बन्यो र विकास भयो भन्दैमा जग्गाको दाम चाँहि नबढाउन उहाँको आग्रह थियो ।
आयुर्वेदीक अस्पतालको संरचना बने पनि सञ्चालनका लागि हस्तान्तरण नहुँदा उपयोगमा आउन सकेको छैन । सो अस्पताल चाँडै सञ्चालन गर्ने व्यवस्था मिलाई दिन गाउँपालिकाले संघीय तथा प्रदेश सरकारलाई आग्रह पनि गरेको छ ।


