दमक/ कोरोना संक्रमण बढेसँगै झापामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । सबै प्रकारका सभासमारोहमा प्रतिबन्ध लगाइएको छ । अधिकांश शिक्षण संस्था बन्द भएका छन् ।
झापाका निमित्त प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले निकालेको सूचनामा कहीँकतै जानुपरे खोप कार्ड अनिवार्य बोक्न, कार्ड बोक्न बिर्सिने सम्भावना भएकाले मोबाइलमा फोटो खिचेर भए पनि बोक्न आदेश गरेको छ ।
अघिल्लो साताको शुक्रबार तीन जनामा कोरोना सङ्क्रमण देखिएकोमा मङ्गलबार एकै दिन २५ जनामा सङ्क्रमण देखिएपछि प्रशासनले कडाइ सुरु गरेको हो । अहिले झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या सय नजिक पुगेको छ । ९६ जनामध्ये तीनजना अस्पतालमा उपचाररत छन् । अन्य सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाइएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको मङ्गलबारको बैठकले कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को पुस २५ गते र २६ गतेको गृह मन्त्रालयको पालना गर्न गराउन निर्देशन दिएको छ । बैठकले सार्वजनिक स्थानमा कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायले माघ ७ गतेदेखि खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था लागू गर्ने , माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने र सोको प्रचारप्रसारका लागि सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, सङ्घसंस्थाहरू र स्थानीय सञ्चारमाध्यमलगायत सबैलाई अनुरोध गर्ने , नेपाल प्रवेश बिन्दु काँकडभिट्टामा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने, त्यस्तो परीक्षणबाट संक्रमित देखिएकालाई तत्काल संस्थागत आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने , एन्टिजेन परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्ने , सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरू स्थापना गर्न र नियमित खोप केन्द्रहरूमा खोपलाई अभियानकै रूपमा अगाडि बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्ने पनि निर्णय भएको जनाइएको छ ।