दमक/झापाको दमकका दृष्टिबिहिनहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले चप्पल उद्योग स्थापना भएको छ ।
दमक नगरपालिका र जिल्ला घरेलु तथा साना उद्योग कार्यालय झापाको संयुक्त प्रयासमा दृष्टिबिहिनहरुको स्वरोजागरका लागि दमक ८ स्थित बालुवाटार क्षेत्रमा सो कारखाना स्थापना गरिएको हो । उद्योग सञ्चालनको जिम्मेवारी नेत्रहिन संघ झापाले लिएको छ । संघले आज ( बिहिबार) आयोजना गरेको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका जयनारायण अधिकारीले संयुक्त रुपमा सोको उदघाटन गरेका छन । सो अवसरमा नगर प्रमुख रोमनाथ ओलीले नगरपालिकाले दृष्टिबिहिनहरुलाई आत्मनिर्भरताका लागि स्वरोगारको अवसर सिर्जना गर्न नगरपालिकाले ३ लाख रुपैयाँ आवश्यक मेसिन खरिद गर्न उपलब्ध गराएको बताए । ओलीले ससाना प्रयासहरुबाट नै समाज समृद्ध हुने र समाज समृद्ध भए मात्रै समृद्ध राष्ट्र निर्माणको अभियानले सार्थकर्ता पाउने बताए । घरेलु तथा साना उद्योग कार्यालयका अधिकारीले नेत्रहिन संघ झापा मार्फत दृष्टिबिहिनहरुको स्वरोजगारका लागि कार्यालयले यस अघि भद्रपुरमा अगरवत्ती बनाउने उद्योग सञ्चालनमा रहेको बताउँदै कार्यालयले आफनो बजेट तथा कार्यक्रमले भ्याए सम्म यस किसिमका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा नेकपा एमालेका नेता होम बहादुर थापा, सामाजिक व्यक्तित्व हेम सुवेदी लगायतको पनि उपस्थिती रहेको थियो । नेत्रहिन संघ झापाकी अध्यक्ष यशोदा बरालको सभापतित्वमा भएको कार्यक्रममा संघका जिल्लास्थित पदाधिकारी तथा सदस्यहरु तथा स्थानीयहरु सहभागी भएका थिए । सो कारखानाले दैनिक बजारमा आवश्यकता अनुसार चप्पल उत्पादन गरेर व्यवसायिक कारोबारमा सघाउ पुरयाउने बताइएको छ ।

